नेपाल अडिटर्स एसोसिएसन (अडान) बाराले २० औं अडान दिवसको अवसरमा कलैयास्थित अमृता अनाथ आश्रममा खाद्यान्न सामग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमको अध्यक्षता अडान बाराका अध्यक्ष मनिन्द्र लाल कर्णले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा अडानका वरिष्ठ संरक्षक तथा केन्द्रिय सदस्य उमेश मिश्राले कार्यक्रमलाई सम्बोधन गर्नुभयो ।
खाद्यान्न सामग्री वितरण अन्तर्गत चामल, दाल, नुन, तेललगायतका आवश्यक वस्तुहरू आश्रमकी सञ्चालक फुलमती बस्नेतलाई हस्तान्तरण गरिएको थियो ।
अध्यक्ष कर्णले आफ्नो सम्बोधनमा अडानको मुख्य उद्देश्य भ्रष्टाचारमुक्त राष्ट्र निर्माण र समाजलाई सही दिशातर्फ डोर्याउनु रहेको उल्लेख गर्नुभयो। साथै, उहाँले बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा योगदान पुर्याउँदै आइरहेकी सञ्चालक बस्नेतलाई धन्यवाद दिनुभयो ।
कार्यक्रममा अडान मधेश प्रदेशका सचिव रविन्द्र गिरिले अनाथ आश्रममा सहयोग गर्दै अडान दिवस मनाउनुको उद्देश्य सामाजिक उत्तरदायित्व वहन गर्नु रहेको बताउनुभयो। उहाँले आश्रममा रहेका बालबालिकाहरूका नागरिकता र बैंक खाता सञ्चालनसम्बन्धी समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।
कार्यक्रममा अडान बाराका उपाध्यक्ष सुरेश साह, कोषाध्यक्ष बद्रि बहादुर थापा, अन्य पदाधिकारी तथा सदस्यहरूको समेत उपस्थिति रहेको थियो ।
प्रमुख अतिथि उमेश मिश्राले केन्द्रिय अडान डे अन्तर्गत २० वर्षदेखि अनवरत रूपमा अडिटर एसोसिएसनले यस्ता सहयोगमूलक कार्यक्रम गर्दै आएको उल्लेख गर्दै अनाथबालबालिकाको सेवामा अझ बढी ध्यान केन्द्रित गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।