जीतपुरसिमरा उपमहानगरपालिकाले सामुदायिक विद्यालयलाई खर्च विवरण बुझाउन निर्देशन दिएको छ ।
स्थायी सामुदायिक विद्यालयहरूले आर्थिक वर्ष २०८१/८२ मा प्राप्त सहयोग तथा विभिन्न शीर्षकमा गरिएको खर्चको कागजात अनिवार्य रूपमा बुझाउन उपमहानगरपालिकाले आग्रह गरेको हो ।
पालिकाका अनुसार पाठ्यपुस्तक, पुस्तकालय, पोषिलो खाना, विज्ञान प्रयोगशाला, बाल विकास केन्द्र, लेखा तथा सामाजिक परीक्षण, अतिरिक्त क्रियाकलाप, बिजुली, इन्टरनेट, डिजिटल सिकाइ सामग्री र परीक्षा केन्द्र व्यवस्थापनजस्ता शीर्षकमा भएको खर्च विवरण अझै नबुझाइएको छ ।
उपमहानगरपालिकाले भदौ १० गतेभित्र प्रतिवेदन बुझाउन समय तोकेको छ । ढिलाइ भएमा लेखा परीक्षणमा समस्या आउने र आवश्यक परे प्रधानाध्यापकको तलबबाटै रकम कट्टा गरी फछ्र्योट गर्ने चेतावनीसमेत दिइएको छ ।
उपसचिव शिवजी प्रसादको हस्ताक्षर सहित विद्यालयहरूलाई पठाइएको पत्रमा प्रतिवेदन बुझाउन अटेर गर्ने संस्थामाथि कडाइका साथ कारबाही गरिने उल्लेख गरिएको छ ।