विराटनगर । राजनीतिमा पुनः फर्कने घोषणा गरिसकेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले कुनै गुट नचलाएको दाबी गरेकी छन् ।
सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको संक्षिप्त कुराकानीमा उनले भनिन्, ‘मलाई गुटसुट चलाउन आउँदैन, यो आरोपको खण्डन गर्छु ।’
भण्डारीले आफ्नो एमाले सदस्यता सक्रिय रहेको र पार्टीको नीतिअनुसार अघि बढ्ने प्रतिबद्धता जनाइन् । उनले आफू एमालेको ४५ वर्षभन्दा लामो कार्यकर्ता भएको स्मरण गराउँदै पार्टीको हितमा काम गर्ने दृढता व्यक्त गरिन् ।
गत असार १४ गते भण्डारीले एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा गरेपछि पार्टीको केन्द्रीय समितिले उनको सदस्यता खारेज गरेको थियो । तर उनले आफूले पार्टी विधानअनुसार सदस्यता नवीकरण गरिसकेको दाबी गर्दै आफ्नो अभियान निरन्तर अघि बढाउने स्पष्ट पारेकी छन् ।
वाम एकताको सम्भावनाबारे प्रश्नमा उनले भनिन्, ‘तत्काल बलियो सम्भावना देख्दिनँ, तर पूर्ण असम्भव भने छैन ।’
उनले पदपश्चातको राजनीतिक जीवनलाई पनि निरन्तरता दिन सकिने उल्लेख गर्दै प्रत्येक नागरिकले निर्वाचित भएर फर्किन सक्ने अधिकार रहेको बताइन् । साथै पार्टीको औपचारिक निर्णयबारे जानकारी नभए पनि आफ्नो सदस्यता र पार्टीप्रति प्रतिबद्धता कायम रहेको पुनः स्पष्ट पारिन् ।
भिडियाे सामाग्री