सामाजिक एकता र आपसी समझदारी बढाउने उद्देश्यले वीरगन्जमा सामुदायिक प्रहरी पदाधिकारी, कर्मचारी र उद्योगी–व्यवसायीबीच एक मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ ।
कुशेऔंसी (बुबाको मुख हेर्ने दिन) को अवसरमा आयोजित उक्त खेल ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र र ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्श नगर, पर्साको संयुक्त आयोजनामा वीरगन्ज महानगरपालिका–१० स्थित आदर्श रंगशालामा सम्पन्न भएको हो ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख गणेश अर्याल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्र, उद्योग वाणिज्य संघ वीरगन्जका अध्यक्ष हरि गौतम र वीरगन्जस्थित भारतीय दूतावासका राजदूत डी.एस. मिना लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो ।
मैत्रीपूर्ण खेलमा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र र ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्श नगरको संयुक्त टोली विजयी बनेको थियो। आयोजकका अनुसार यस खेललाई केवल जित–हारको दृष्टिले नभई समुदाय र सुरक्षाकर्मीबीच विश्वास, सहकार्य र सौहार्द बढाउने सकारात्मक पहलका रूपमा लिइएको हो ।
ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र तथा सामुदायिक सेवा केन्द्र आदर्श नगरका अध्यक्ष जय प्रकाश खेतानको नेतृत्वमा सम्पन्न उक्त कार्यक्रमले आगामी दिनमा पनि यस्ता सामुदायिक कार्यक्रमलाई निरन्तरता दिने सन्देश दिएको छ ।