पर्साको पटेर्वा सुगौली गाउँपालिका–५ देउरिया क्षेत्रबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध चरेस बरामद गरेको छ ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी नायब निरीक्षक (प्रनानि) प्रकाश थापाको कमाण्डमा खटिएको ११ जनाको टोलीले बिहीबार दिउँसो देउरिया क्षेत्रमा खानतलासी गरेको थियो ।
खानतलासीका क्रममा शंकास्पद देखिएका घरमा केही नभेटिए पनि फर्कने क्रममा ४६ वर्षीय रामायण चौधरीको धान खेतभित्र लुकाइराखिएको अवस्थामा चरेस फेला परेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली ल्याएर तौल गर्दा ५४ किलो ४०० ग्राम चरेस भएको पाइएको पर्साका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जानकारी दिए ।
बरामद चरेससम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बरामद स्थल प्रहरी चौकीबाट करिब सात किलोमिटर पश्चिम–दक्षिणतर्फ पर्छ । धान खेतमा चरेस कसले राख्यो भन्नेबारे अनुसन्धान भइरहेको एसपी मिश्रले बताए ।