वीरगन्जमा फैलिएको हैजाको प्रकोप नियन्त्रणका लागि गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।
आइतबार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा गृहमन्त्री लेखकले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई आवश्यक परे तत्काल परिचालन गर्न सक्ने गरी तयारीमा रहन आदेश दिएका हुन् ।
गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेका अनुसार, “चिकित्सकसहितको मेडिकल टोली आवश्यक पर्दा परिचालन गर्ने गरी तयारी रहन मन्त्रीज्यूबाट निर्देशन भएको छ । सोहीअनुसार सुरक्षा निकाय पनि तयारीमा जुटिसकेका छन्,” उनले जानकारी दिए ।
बैठकमा गृह सचिव गोकर्णमणि दुवाडीसहित सबै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरू सहभागी थिए। बैठकमा मुलुकभरको शान्ति–सुरक्षाको अवस्थाबारे पनि गम्भीर समीक्षा भएको बताइएको छ ।
प्रवक्ता काफ्लेले विभिन्न माग राखेर भइरहेका धर्ना, जुलुस, आन्दोलन तथा अवाञ्छित गतिविधिहरूलाई मध्यनजर गर्दै प्रभावकारी सुरक्षा व्यवस्था मिलाउने विषयमा पनि बैठकमा छलफल भएको उल्लेख गरे ।
गृहमन्त्रीको यस निर्देशनले हैजाको महामारी नियन्त्रणमा सरकार गम्भीर रहेको र आवश्यक परे सुरक्षाकर्मी समेत परिचालन गर्न तयार रहेको स्पष्ट भएको छ ।