वीरगञ्ज महानगरपालिका क्षेत्रमा समुदायस्तरमै हैजाको सङ्क्रमण फैलिँदै गएको छ । तर, अहिलेसम्म यसको स्रोत भने पहिचान हुन सकेको छैन ।
गत शुक्रबारदेखि विभिन्न वडामा हैजाका बिरामी भेटिन थालेका हुन् । पर्सा जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार सोमबार बिहानसम्म वीरगञ्जमा ७९ जना हैजाका सङ्क्रमित भेटिएका छन् । आइतबार बेलुकीसम्म ७१ जना सङ्क्रमित फेला परेका थिए भने सोमबार थप आठ जना नयाँ बिरामी भेटिएका हुन् ।
हालसम्म १०३ जना बिरामी विभिन्न अस्पतालमा भर्ना भएर उपचाररत छन् । ठाकुरले भने, “हैजाको मुख्य स्रोत अझै पत्ता लागेको छैन । तर विश्व स्वास्थ्य सङ्गठन (WHO) का प्रतिनिधिहरू आइतबारदेखि नै यहाँको पानी परीक्षणलगायतको काम गरिरहेका छन् । आजसम्म प्रारम्भिक रिपोर्ट आउने अपेक्षा गरेका छौँ ।”
नारायणी अस्पताल वीरगञ्जका प्रवक्ता डा. उदयनारायण सिंहका अनुसार आइतबारसम्म अस्पतालमा मात्रै ३० जना बिरामी भर्ना भएका छन् । उनले श्यया र जनशक्ति दुवैको अभावका कारण व्यवस्थापन गर्न मुस्किल भइरहेको बताए । “अहिलेसम्म कुनै पनि निकायबाट प्रत्यक्ष सहयोग आइपुगेको छैन,” उनले भने, “हैजाको महामारीसँगै सर्पदंश, ज्वरो, प्यारालाइसिसलगायत अन्य रोगका बिरामीहरूको चाप पनि बढेको छ । तर जनशक्ति र स्रोत साधन नपुग्दा उपचारमा कठिनाइ भइरहेको छ ।”
डाक्टर सिंहका अनुसार हालसम्म नारायणी अस्पतालमा २६ जना, तराई अस्पतालमा २५ जना, नेशनल मेडिकल कलेजमा ९ जना, भवानी अस्पतालमा ३ जना, वीरगञ्ज हेल्थ केयर, अली अर्थो अस्पताल र मङ्गलम प्याथोलोजीमा दुई–दुई जनासहित ८ जना हैजा/कलेरा सङ्क्रमित भेटिएका छन् । सोमबार थप आठ जना नयाँ बिरामी देखिएका छन्, तर ती कुन अस्पतालमा परीक्षण गरिएको हो भन्ने विवरण खुलेको छैन ।
स्वास्थ्यकर्मीहरूले दूषित खानेपानी र सरसफाइको कमीलाई प्रमुख कारण मान्दै सचेतना र सावधानी अपनाउन आग्रह गरेका छन् ।
भिडियाे सामाग्री