बारामा बाघको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जितपुरसिमरा उपमहानगरपालिका–२२, २ नं. पुल निवासी ५५ वर्षीय कृष्ण प्रसाद शर्मा रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
बुधबार बिहान करिब ७:३० बजे स्कुटर लिएर आधाभार जंगलतर्फ घाँस काट्न गएका शर्मा घर नफर्किएपछि आफन्तले खोजतलास गरेका थिए । खोजतलासका क्रममा जंगलभित्र स्कुटर र घाँस भेटिए पनि उनी फेला परेका थिएनन् । त्यसपछि आफन्तले प्रहरीलाई जानकारी गराएका थिए ।
प्रहरीको खोजतलास क्रममा जंगलभित्र चप्पल र रगतका दाग भेटिएको थियो। त्यसपछि दिउँसो प्रहरी टोली र आधाभार ब्यारेकबाट खटिएको नेपाली सेनाको संयुक्त टोलीले जंगलभित्र शव फेला पारेको हो । प्रहरीका अनुसार शवको टाउको नभएको र बाघले आक्रमण गरेको अवस्थामा भेटिएको छ ।