रौतहटको कटहरिया नगरपालिका – ४ बहादुरपुरमा मोबाइल चोरीको झुठा आरोप लगाएर गरिएको कुटपिटका कारण २८ वर्षीय दलित युवक नसिब बैठाको मृत्यु भएको छ ।
बैठाका भाइका अनुसार श्रावण १६ गते बेलुकी गाउँकै पसलमा बसेका बेला स्थानीय संजय यादव, विजय यादव, गर्भु गोसाइँ, शम्भु गोसाइँ, प्रभु गोसाइँ र लक्ष्मी गोसाइँको समूहले बैठालाई मोबाइल चोरी गरेको भन्दै कुटपिट गरेका थिए । सो क्रममा जबरजस्ती चोरी स्विकार गर्न लगाइएको भए पनि बैठाले आफू निर्दोष भएको बताएपछि केही व्यक्तिले उनलाई घरसम्म पुर्याएर फर्केका थिए ।
तर भोलिपल्ट (श्रावण १७ गते) सोही समूहका व्यक्तिहरुले बैठालाई घरबाट समाते । आँखा पट्टी बाँधेर करिब ३०० मिटर टाढा लगेपछि रुखमा उल्टो झुण्ड्याई साइकलबट्टिको चेन, बेल्ट र हातले निर्घात कुटपिट गरेका थिए। कुटपिटपछि प्रहरीलाई खबर गरी इलाका प्रहरी कार्यालय कटहरियामा बुझाइएको थियो ।
पञ्चायतमा मुद्दा सुन्दा बैठा निर्दोष प्रमाणित भएका थिए। प्रहरीबाट रिहा भए पनि भीषण कुटपिटका कारण उनको स्वास्थ्य अवस्था बिग्रियो । हिँडडुल गर्न नसक्ने भएपछि परिवारले वीरगन्जस्थित स्पोर्ट्स अस्पतालमा करिब २० दिन उपचार गराए। उपचारकै क्रममा बैठाको मृत्यु भएको परिवारजनले बताए ।
बैठाका भाइका अनुसार, मृत्यु पश्चात् उनीहरूले न्याय र क्षतिपूर्ति नपाएसम्म शव नदाहिने अडान लिए पनि गाउँघरका ठुलाबडाको दबाबमा शव दाहसंस्कार गर्न बाध्य भएका थिए । पछि इलाका प्रहरी कार्यालय कटहरियामा मुद्दा दर्ता गरे पनि प्रहरीले हालसम्म कुनै ध्यान नदिएको र गाउँमै केही व्यक्तिले मिलापत्र गर्न दवाब दिइरहेको परिवारजनले गुनासो गरेका छन् ।