नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच भएको सहमति कार्यान्वयन गर्न माग गर्दै बारामा शिक्षक महासंघमा आवद्ध शिक्षक संघ–संगठनहरुले आइतबार धर्ना दिएका छन् ।
महासंघको केन्द्रीय कार्यक्रमअनुसार शैक्षिक संघ–संगठनका शिक्षकहरुले शिक्षा विकास तथा समन्वय इकाई बाराको मुल गेट अगाडि दिउँसो १ बजेबाट ३ बजेसम्म धर्ना दिएका हुन् । धर्ना कार्यक्रम नेपाल शिक्षक संघ बाराका अध्यक्ष राजकिशोर सहनीको अगुवाइमा सम्पन्न भएको थियो ।
शिक्षकहरूले सरकारले ल्याएको शिक्षा विधेयकलाई आवश्यक संशोधनसहित पारित गर्नुपर्ने माग गरेका छन् । धर्नामा दुई सयभन्दा बढी शिक्षकहरूको सहभागिता रहेको अध्यक्ष सहनीले जानकारी दिए ।
सरकार र शिक्षक महासंघबीच भएको सहमति कार्यान्वयन गर्न माग गर्दै महासंघको अगुवाइमा देशभरका शिक्षक संघ–संगठनहरूले चरणबद्ध आन्दोलन गर्दै आएका छन् ।