पूर्व राष्ट्रपति विद्या देवी भण्डारीले नयाँ पुस्तालाई इतिहास, भूगोल र संस्कृतिको जानकारी दिन आवश्यक रहेको बताएकी छन् ।
बाराको कलैयास्थित दरबार होटलमा आइतबार मदन भण्डारी फाउन्डेसन जिल्ला कमिटी बाराले ७५औं जन्मजयन्तीको अवसरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।
भण्डारीले मदन भण्डारीका विचार र योगदानहरूबारे नयाँ पुस्तामा जानकारी पु-याउनुपर्नेमा जोड दिँदै उच्च प्राविधिक युगमा अध्ययनसँगै आर्थिक उत्पादन र आफ्नै देशबारे ज्ञान हासिल गर्नुपर्ने धारणा राखिन् ।
कार्यक्रममा उनले एउटै घरका चार छोरीहरूको उपलब्धिलाई विशेष कदर गर्दै प्रशंसापत्रसहित सम्मान गरिन् । बाराको देवताल गाउँपालिका–३ निवासी शम्भु प्रसाद यादवकी छोरी पूजा यादव स्थानीय तह अधिकृत (छैटौँ तह), कविता र पल्लवी यादव संघीय खरिदार तथा गुन्जा यादव प्राथमिक तहकी शिक्षिका पदमा कार्यरत छन् । उनीहरूको जनसेवाप्रति समर्पणलाई पूर्व राष्ट्रपतिले उदाहरणीय उपलब्धि भन्दै सराहना गरिन् ।
भण्डारीले सम्मानित छोरीहरूलाई जनताको सेवा र राष्ट्रप्रतिको दायित्वप्रति अझ गम्भीर भएर लाग्न आग्रह गरिन् । साथै उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा ध्यान दिन नेताहरूलाई आह्वान गर्दै विद्यालय र कलेजका विद्यार्थीहरूको पठनपाठनस्तरमा सुधार आवश्यक रहेको उल्लेख गरिन् ।
यसै अवसरमा उनले मदन भण्डारी फाउन्डेसनले यस वर्ष शिक्षा र स्वास्थ्य क्षेत्रमा प्राथमिकता दिएर काम गर्ने जानकारी दिइन् । उनले मधेसमा समयमा पानी नपर्दा कृषकले भोग्नुपरेको समस्या, जलवायु परिवर्तनका असर र चुरे दोहनका कारण सिर्जित जल संकटप्रति चिन्ता व्यक्त गर्दै सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिइन् ।
कार्यक्रम सुरु हुनु अघि एमाले स्थायी कमिटी सदस्य पुरुषोत्तम पौडेलको नेतृत्वमा कार्यकर्ताले गढीमाई मन्दिरमा पूजाआजा गरेका थिए । कार्यक्रममा पूर्व राष्ट्रपति भण्डारीलाई ५१ किलोको फूलमालाले स्वागत गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा पूर्व राष्ट्रपति भण्डारी उपस्थित थिइन् भने अध्यक्षता पुरुषोत्तम अन्सारीले गरेका थिए । कार्यक्रममा उपाध्यक्ष पन्नालाल कुशवाहा, स्थानीय नेता, कार्यकर्ता, विद्यार्थी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।