बारामा भर्खरै सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) प्रकाश पौडेलले चाडपर्व लक्षित मात्र नभई निरन्तर बजार अनुगमन गरिने बताएका छन् ।
मंगलबार जिल्ला प्रशासन कार्यालय बाराको सभाहलमा पत्रकारहरूसँग कुरा गर्दै प्रजिअ पौडेलले जिल्ला तथा इलाका प्रशासन कार्यालयमार्फत दिइने सेवाप्रवाहलाई चुस्त र दुरुस्त पारिने प्रतिवद्धता जनाए ।
उनले जिल्ला तथा इलाका प्रशासन कार्यालयमा कर्मचारी अभावका कारण सेवाप्रवाहमा कठिनाइ आएको स्वीकार गर्दै चाँडै नै समस्याको समाधान गरेर जनतालाई सहज सेवाको अनुभूति हुनेगरी काम गरिने बताए। साथै, नागरिकता वितरण तथा राष्ट्रिय परिचयपत्र वितरण प्रक्रियालाई थप सहज बनाउन पहल गरिने उनको भनाइ थियो ।
हाल जिल्ला प्रशासन कार्यालयमा टोकन प्रणाली लागू भए पनि व्यवस्थापन अभावका कारण सेवाग्राहीहरूलाई समस्या भइरहेको भन्दै उनले यसलाई व्यवस्थित गर्दै तत्काल सेवा प्रवाह हुने र सेवाग्राहीको काम नरोकिने व्यवस्था मिलाइने बताए ।
प्रजिअ पौडेल यसअघि चितवनका प्रमुख जिल्ला अधिकारीको रूपमा कार्यरत थिए। बारामा यसअघि बसन्त अधिकारी प्रमुख जिल्ला अधिकारीको रूपमा कार्यरत रहेका थिए ।
उक्त परिचयात्मक कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक सरोज निरौला, प्रशासकीय अधिकृत जयचन्द्र साहलगायत सञ्चारकर्मीहरूको उपस्थिति थियो ।