पर्सा जिल्लामा हैजाको संक्रमण देखिएको दुई साता बितिसक्दा पनि यसको स्रोत भने पत्ता लागेको छैन । स्थानीय, प्रदेश र संघीय सरकारले प्रकोप नियन्त्रणका लागि प्रयास गरे पनि व्यवहारमा न त संक्रमण नियन्त्रणमा आएको छ, न त यसको श्रोत नै पत्ता लागेको छ ।
सुरुवातमा वीरगन्ज महानगरपालिकाको सीमित क्षेत्रमा मात्रै देखिएको हैजा अहिले करिब २० किमी पश्चिमस्थित पोखरिया नगरपालिका क्षेत्रमा समेत फैलिएको छ । महानगरपालिकाले बुधबार साँझ साढे ५ बजे सार्वजनिक गरेको तथ्यांकअनुसार, वीरगन्जमा मात्रै संक्रमितको संख्या १८२ पुगेको छ । तीमध्ये सबै उपचारपछि घर फर्किएका छन् भने १० जना अझै उपचाररत छन् ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पोखरिया अस्पतालमा हालसम्म १३ संक्रमित पुष्टि भएका छन् । यसरी वीरगन्ज र पोखरियासहित पर्सामा हालसम्म संक्रमितको संख्या १९५ पुगेको छ ।
वीरगन्जका विभिन्न अस्पतालमा हालसम्म ९६५ जना झाडापखाला तथा हैजाका बिरामी उपचारका लागि पुगेका थिए । तीमध्ये सबै जना डिस्चार्ज भएका छन् भने ५५ बिरामी अझै विभिन्न अस्पतालमा उपचाररत छन् । पछिल्ला २४ घण्टामा मात्रै ५१ जना नयाँ बिरामी थपिएका छन् ।
हाल ८ जना आइसियुमा, १ जना एचडियुमा र ४६ जना सामान्य वार्डमा गरी ५५ बिरामीको उपचार भइरहेको छ । प्रकोप फैलिन नदिन भन्दै बन्द गरिएका वीरगन्जका शिक्षण संस्था डेढ सातापछि आंशिक रूपमा खुलेका छन् । बुधबारदेखि कक्षा ८ देखि माथिका कक्षामा मात्र पढाइ सुरु गरिएको छ ।
नारायणी अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहका अनुसार सुरुवाती दिनमा अस्पतालमा आएका झाडापखालाका बिरामीमध्ये करिब ५० प्रतिशतमा हैजा पुष्टि हुने गर्थ्यो भने अहिले यो दर घटेर करिब १० प्रतिशतमा सीमित भएको छ । उनले हाल आत्तिनुपर्ने अवस्था नरहेको तर सर्वसाधारणले सावधानी भने अपनाउनुपर्ने सुझाव दिएका छन् ।