काठमाडौँ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई तत्काल पक्राउ गर्न जेनजीले माग राखेका छन् ।
शुक्रबार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा जेनजीले आन्दोलन दबाउन राज्यको दुरुपयोग भएको आरोप लगाउँदै ओली र लेखकसँगै काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई पनि पक्राउ गर्न माग गरेका छन् ।
जेनजीका सल्लाहकार डा. निकोलस भुसालले राष्ट्रियसभा विघटन गरेर संविधान संशोधन गरी प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको चुनाव गर्नुपर्ने बताए । उनले २०४६ सालपछिका सम्पूर्ण उच्च तहका नेता तथा कर्मचारीको सम्पत्तिको छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न समेत माग गरेका छन् ।
जेनजी आन्दोलनका घाइते हरि अधिकारीले भने, “सहिद परिवार नर्गिस थापासहित हामीले समाजमा व्याप्त कुशासनविरुद्ध आन्दोलन गरेका थियौँ।” उनले आफ्ना माग पूरा नभए आन्दोलन जारी रहने समेत बताए ।
जेनजी सहिद परिवार नर्गिस थापाले आफ्ना परिवारको बगेको रगतको अपमान नहुने गरी सरकार अघि बढ्नुपर्ने बताए ।
कार्यक्रममा जेनजी सल्लाहकार कुशलव केसी, खेमराज साउद, खोजराज कटुवाल, निपेस ढाका अधिकारी, डा. सुन्दर थापा, वैज्ञानिक कपिल पौडेल लगायत वक्ताहरूले देश विकासको बाटोमा अघि बढ्न प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री आवश्यक रहेको बताए । उनीहरूले शिक्षा र स्वास्थ्य निःशुल्क हुनुको साथै देशमै रोजगारी सिर्जना गर्नुपर्ने पनि बताए ।
अभियन्ता कुशलव केसीले सहकारी पीडितको पक्षमा लामो समयदेखि सडकमै रहेको उल्लेख गर्दै अबको सरकारले ती मागहरूको सम्बोधन गर्न सुझाव दिनुपर्ने बताए ।