जेनजी प्रदर्शनको क्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं उद्योगी अनिल रुङ्टाको वीरगञ्जस्थित घरमा आगो लाग्दा गम्भीर घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।
पर्सा प्रहरीले जानकारी दिएको अनुसार सखुवा प्रसौनी गाउँपालिका – २ निवासी ४५ वर्षीया सुशीला हजाराको सोमबार काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनी गत भदौ २४ गते प्रदर्शनकारीले रुङ्टाको घरमा आगो लगाउँदा ५० प्रतिशत शरीर जलेर गम्भीर घाइते भएकी थिइन् ।
नेशनल मेडिकल कलेज वीरगञ्जमा प्रारम्भिक उपचारपछि स्वास्थ्य अवस्था सुधार नहुँदा उनलाई थप उपचारका लागि काठमाडौं पठाइएको थियो ।
यसै घटनामा गम्भीर घाइते भएका भारत बिहार राज्य सुगौली निवासी १८ वर्षीय विनय यादवको ९० प्रतिशत शरीर जलेको छ । हाल कीर्तिपुर बर्न अस्पतालमा उपचाररत यादवको स्वास्थ्य अवस्था क्रमशः सुधारोन्मुख रहेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिएका छन् ।