पर्सा जिल्लाको भिष्वा नगरपालिका–५ मा बिहीबार राति गोली प्रहार भएको छ । घटनामा सोही वडाका करिब १७ वर्षीय गोलु आलम घाइते भएका छन् ।
पर्सा प्रहरी प्रमुख एसपी सुदीपराज पाठकका अनुसार साँझतिर भएको गोली प्रहारको कारण स्पष्ट हुन बाँकी छ । तर प्रहरी स्रोतले स्थानीय युवाबीचको विवादकै क्रममा गोली चलेको प्रारम्भिक अनुमान गरेको छ ।
घाइते आलमलाई उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पताल पुर्याइएको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
यस घटनामा संलग्न भएको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ । विस्तृत विवरण अनुसन्धानपछि मात्र सार्वजनिक गरिने प्रहरीको भनाइ छ ।