दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी पर्सा प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ । जेनजीको आडमा आपराधिक गतिविधि बढ्न सक्ने आकलनसहित जिल्ला प्रहरी कार्यालय पर्साले असोज ६ गतेदेखि यो योजना कार्यान्वयनमा ल्याएको हो ।
पर्सा प्रहरी प्रमुख एसपी सुदीपराज पाठकका अनुसार जिल्लाभर ११ सय प्रहरी परिचालन गरिएको छ । मुख्य बजार, संवेदनशील क्षेत्र, मठ–मन्दिर, बैंक तथा वित्तीय संस्थाको सुरक्षाका लागि अलग टोली खटाइएको छ । चोरी, लुटपाट र गुण्डागर्दी नियन्त्रणका लागि मोबाइल गस्ती, पेट्रोलिङ, सरप्राइज चेकिङ र सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको उनले जानकारी दिए ।
‘कुनै पनि घटनाको सूचना पाउनासाथ १० मिनेटभित्र प्रहरी त्यहाँ पुग्ने व्यवस्था मिलाइएको छ,’ एसपी पाठकले बताए। यसका लागि क्विक रेस्पोन्स टिम (क्यूआरटी) तयारी अवस्थामा राखिएको छ ।
भारतसँगको खुला सीमाका कारण चोरी, लुटपाट, हतियार दुरुपयोग र सीमा अपराधको जोखिम उच्च रहेको भन्दै प्रहरी प्रशासनले निगरानी कडा पारेको छ । शंकास्पद व्यक्तिको अनुगमन, सिसिटिभी क्यामेराबाट निगरानी र सूचना संकलनलाई प्राथमिकता दिइएको छ ।
एसपी पाठकले जेनजीको नाममा अपराध गर्ने कसैलाई पनि उन्मुक्ति नदिइने चेतावनी दिएका छन् । ‘कानुन उल्लंघन गर्ने जो कोही दोषी हुन्, कसैलाई पनि छुट दिइने छैन,’ उनले भने, ‘आवश्यक परे मेरो जागिर जाओस्, अपराधीलाई कानुनी कठघरामा उभ्याइन्छ ।’
पर्सा प्रहरीले कुनै आपराधिक गतिविधि वा घटना देखे तत्काल १०० नम्बरमा जानकारी दिन नागरिकलाई आग्रह गरेको छ ।