काठमाडौँ । निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावली सङ्कलन कार्य सुरु गरेको छ । १६ वर्ष उमेर पूरा गरेका र नेपाली नागरिकताको प्रमाणपत्र भएका हरेक नागरिकले आफ्नो नाम दर्ता गराउन सक्नेछन् ।
निर्वाचन आयोगका अनुसार नामावली सङ्कलन प्रक्रिया प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरूका साथै अनलाइन माध्यमबाट पनि गर्न सकिन्छ ।
नामावली दर्ताका लागि कार्यालयहरू बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म खुला रहनेछन् ।
अनलाइन प्रि-रजिस्ट्रेसन प्रक्रिया
मतदाता नामावलीमा नाम दर्ता गर्नुका साथै, आफ्ना विवरणमा भएका त्रुटि सच्याउन वा ठेगाना सार्नका लागि पनि अनलाइनबाट प्रि-रजिस्ट्रेसन गर्न सकिन्छ। निर्वाचन आयोगले मतदातालाई नयाँ दर्ता कसरी गर्ने भन्ने विषयमा जानकारी उपलब्ध गराएको छ ।

- यदि तपाईंले अहिलेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्नुभएको छैन भने ‘नयाँ दर्ता’ मा क्लिक गर्नुहोस् । पुरानो मतदाता हुनुहुन्छ र विवरणमा रहेको त्रुटि सच्याउन वा मतदाता नामावली सार्न चाहनुहुन्छ भने ‘नामावली अद्यावधिक’ मा क्लिक गर्नुहोस् ।
- नयाँ दर्ता फारम भर्नका लागि सुरुमा आफ्नो फोन नम्बर हाल्नुपर्छ ।

- फोन नम्बर राखिसकेपछि उक्त नम्बरमा एउटा ओटीपी आउँछ । उक्त ओटीपीलाई आयोगको वेबसाइटमा तोकिएको स्थानमा भर्नुहोस् ।

- ओटीपी राखेपछि देखिने नयाँ विन्डोमा तपाईंले विवरण भर्ने विभिन्न चरण पार गर्नुपर्छ ।

- त्यहाँ देखिएको ‘नयाँ दर्ता’ मा क्लिक गरी ‘आवेदन भर्नु पूर्व ध्यान दिनुपर्ने कुराहरू’ पढी ‘हालसम्म मेरो मतदाता नामावलीमा समावेश भएको छैन’ लेखिएको स्थानमा टिक लगाई ‘सुरु गर्नुहोस्’ मा थिच्नुहोस् ।

-
अब खुल्ने नयाँ विन्डोमा प्रदेश, जिल्ला, गाउँपालिका/नगरपालिका, वडा नम्बर राखी मतदान स्थलको नाम राखेर अर्को फारममा जानुहोस् ।

-
अब व्यक्तिगत विवरण भर्नुपर्छ । यहाँ मतदाताको नाम (नेपाली र अंग्रेजीमा), पेशा, शैक्षिक योग्यता, मातृभाषा, वैवाहिक स्थिति, लिङ्ग, नाता (बाजे, बुवा/आमा, पति/पत्नीको नाम), टेलिफोन नम्बर, मोबाइल नम्बर र ईमेल ठेगाना भरी अर्को फारममा जानुहोस् ।
-
अब आउने चरणमा जन्ममिति, नागरिकता जारी भएको जिल्ला र मिति, जन्मस्थल र स्थायी बसोबास विवरणहरू भर्नुपर्छ । साथै, १०० केबीभन्दा कम साइज नभएको नागरिकताको फोटो राख्नुपर्छ र नयाँ फारमका लागि अगाडि बढ्नुपर्छ ।
-
यदि तपाईं अपाङ्गता भएको व्यक्तिमा पर्नुहुन्छ भने कुन किसिमको अपाङ्गता हो खुलाउनुहोस् ।

-
यसपछि मातृभाषा, शैक्षिक योग्यता र समूह वर्ग छानी अगाडि बढ्नुहोस् ।
-
अब तपाईंले फोटो खिचाउने र औँठाछाप दिने (बायोमेट्रिक) स्थान र मिति छान्नुपर्छ ।

अनलाइन आवेदन दर्ता भएपछि मतदाताले फोटो खिचाउन र औँठाछाप दिन (बायोमेट्रिक) अनलाइनबाट प्राप्त दर्ता फारम, आफ्नो नागरिकताको प्रमाणपत्र र त्यसको प्रतिलिपि, स्थायी ठेगाना बाहेकको हकमा बसाइँ सराई प्रमाणपत्र र त्यसको प्रतिलिपि र विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाणपत्र र त्यसको प्रतिलिपि सँगै लैजानुपर्छ ।