जेनजी आन्दोलनको भोलिपल्ट भदौ २४ गते देशभर फैलिएको हिंसात्मक प्रदर्शनका क्रममा कारागार र सुधारगृह तोडफोड गर्दै १४ हजारभन्दा बढी कैदीबन्दी फरार भएका थिए । तीमध्ये अहिलेसम्म ५ हजार ७ सयभन्दा बढी अझै फरार रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ ।
त्यो दिन देशभरका २८ वटा कारागार र ९ वटा बालसुधार गृहबाट १४ हजार ५५३ जना कैदी र बालबन्दी भागेका थिए । प्रहरीका अनुसार अहिले पनि भागेकामध्ये ५ हजार ७९ कैदी र ६१८ बालबन्दी गरी कूल ५ हजार ६९७ जना अझै फरार छन् ।
भाग्ने क्रममा रामेछापमा तीन र धादिङमा दुई कैदीको गोली लागी मृत्यु भएको थियो भने बालसुधार गृहमा झडप हुँदा पाँच बालबन्दीको ज्यान गएको थियो ।
कैदीहरूले ताला तोडी भाग्न थालेपछि सरकारले तत्कालै सेना परिचालन गरेको थियो । डिल्लीबजार कारागारमा भाग्न खोजेका कैदीहरूलाई सेनाले नियन्त्रणमा लिएको थियो । धादिङ कारागारमा नियन्त्रणका क्रममा गोली चल्दा दुई कैदीको मृत्यु भएको थियो ।
भागेकामध्ये केही पुनः आपराधिक गतिविधिमा
भागेका कैदीमध्ये दुई जनाले पुनः गम्भीर अपराध गरेका छन् । काभ्रेको पनौती नगरपालिका–१२ का सन्तबहादुर तामाङ, जो बलात्कार मुद्दामा नख्खु कारागारमा तीन वर्षदेखि सजाय काटिरहेका थिए, भदौ २४ गते जेलबाट भागेपछि आफ्नी श्रीमती मनिषा तामाङको हत्या गरेर भोलिपल्ट पुनः कारागार फर्किएका थिए ।
त्यस्तै, दाङको तुलसीपुरका खिमबहादुर विक, जो कर्तव्य ज्यान मुद्दामा २५ वर्षको कैद सजाय काटिरहेका थिए, भागेपछि असोज ११ गते पुनः एक व्यक्तिमाथि धारिलो हतियार प्रहार गरी फरार भएका थिए । उनलाई प्रहरीले शनिबार दंगीशरण गाउँपालिका–२ बाट पक्राउ गरेको हो ।