काठमाडौँ । दशैं–तिहारको बिदामा पारिवारिक माहोलबाट फुर्सद पाउने धेरैले पछिल्ला वर्षहरूमा नयाँ–नयाँ ठाउँ घुम्ने प्रचलन अपनाएका छन् । साथीभाइ वा आफन्तसँग ट्रेकिङ, हाइकिङ, जङ्गल सफारीलगायत साहसिक पदयात्रा गर्ने चलन बढ्दो क्रममा छ ।
कसैले पहिले नै यात्राको योजना बनाइसकेका छन्, कोहीले विशेष कारणले जान नसकेका छन् । यदि तपाईं पनि पदयात्रा वा आन्तरिक पर्यटनको तयारीमा हुनुहुन्छ भने, यात्राअघि मौसम र त्यहाँको वातावरणबारे जानकारी लिन “वेबक्याम नेपाल” उपयोगी माध्यम बन्न सक्छ ।
‘वेबक्याम नेपाल’ नामक युट्युब च्यानलले देशका विभिन्न स्थानहरूमा स्थायी क्यामेरा राखी त्यहाँको दृश्य र मौसमको अवस्था २४ घण्टा लाइभ प्रसारण गर्दै आएको छ । घुम्न जानुअघि वास्तविक अवस्था बुझ्न वा घरमै बसेर रमाइलो दृश्य हेर्न चाहनेका लागि यो च्यानल लोकप्रिय बन्दै गएको छ ।
यस च्यानलका सञ्चालक मनि गुरुङ हाल बेलायतमा बसोबास गर्छन् । करिब ४२ हजार ७ सयभन्दा बढी सब्स्क्राइबर भएको उक्त युट्युब च्यानल सन् २०१८ देखि सञ्चालनमा आएको हो । सुरुवाती समयमा यसमा २०७२ सालको भूकम्पपछि पुनर्निर्मित धरहराको उद्घाटन कार्यक्रमका दृश्यहरू अपलोड गरिएको थियो । हालसम्म यस च्यानलमा १२६ भन्दा बढी भिडियो अपलोड भइसकेका छन्, जसमा करिब दुई वर्षदेखि २० भन्दा बढी स्थानका दृश्य एकसाथ लाइभ देखिन्छन् ।
च्यानलमार्फत हेर्न सकिने केही प्रमुख स्थानहरू:
१. होटेल एभरेस्ट भ्यु (३८८० मिटर)
२. अन्नपुर्ण बेस क्याम्प
३. लुक्ला विमानस्थल
४. लोबुचे, डिङबोचे, नाम्चे बजार
५. कालोपानी, मुस्ताङ
६. जोमसोम
७. हलेसी, खोटाङ
८. स्वयम्भूनाथ र सुन्धारा, काठमाडौँ
लाइभ भिडियोमा देखिएका होटलहरूका सम्पर्क नम्बरसमेत उपलब्ध छन्, जसमार्फत त्यहाँको मौसम, आवास वा पहुँचसम्बन्धी थप जानकारी लिन सकिन्छ ।