लोक सेवा आयोगले प्राविधिक र स्वास्थ्यतर्फका १७० जना कर्मचारी परिपूर्ति गर्नका लागि आवेदन खुला गरेको छ ।
आयोगले बुधबार गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै निजामती सेवातर्फ राजपत्रांकित तृतीय श्रेणीका प्राविधिक पद र स्वास्थ्य सेवाका सातौँ तथा आठौँ तहका पदका लागि आवेदन माग गरेको हो । आयोगका अनुसार इच्छुक उम्मेदवारले मंसिर १६ गतेसम्म अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर मंसिर २३ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।
आवेदन दस्तुर प्रत्येक विज्ञापनका लागि १ हजार २०० रुपैयाँ तोकिएको छ भने एकै पदका लागि समावेशी विज्ञापनमा पनि आवेदन दिने उम्मेदवारले प्रत्येक थप विज्ञापनका लागि ४ सय रुपैयाँ अतिरिक्त बुझाउनुपर्नेछ ।
आयोगले सम्पूर्ण आवेदन प्रक्रिया विद्युतीय माध्यममार्फत गर्न सकिने जनाउँदै उम्मेदवारहरूलाई समयमै दरखास्त पेश गर्न आग्रह गरेको छ ।
