बाराको सिमरामा जेन–जेड युवाहरूको शान्तिपूर्ण विरोध प्रदर्शन उग्र बन्दै गएपछि प्रशासनले आज दिउँसो कर्फ्यू आदेश जारी गरेको छ ।
बुधबार नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत मधेश जनजागरण सभाका लागि आउँदै गर्दा जेनजी युवामाथि एमाले कार्यकर्ताले कुटपिट गरेको आरोप सार्वजनिक भएपछि तनाव झनै चर्किएको हो ।
हिजाेकाे घटनामा संलग्न एमाले कार्यकर्तालाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि नबढाएको भन्दै युवाहरूले बिहीबार बिहानैदेखि सिमरामा प्रदर्शन सुरू गरेका थिए । कुटपिटमा संलग्नलाई तत्काल कारबाही गर्ने माग पूरा नभएपछि भीड बढ्दै गइहाल्दा स्थिति नियन्त्रणबाहिर जाने संकेत देखिएपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो ।
बाराका प्रमुख जिल्ला अधिकारीका अनुसार दिउँसो १ बजेदेखि राति ८ बजेसम्म सिमरा–जीतपुर सडकखण्ड र सिमरा विमानस्थल क्षेत्र वरपर ५०० मिटर भित्र कर्फ्यू लागू गरिएको छ । कर्फ्यू अवधिभर कुनै पनि प्रकारको भीड, आवतजावत, सभा वा प्रदर्शन पूर्णतः निषेध गरिएको छ ।
कर्फ्यू लागेपछि पनि केही स्थानमा प्रदर्शनकारी र प्रहरीबीच ढुंगामुढा तथा बल प्रयोग भइरहेको छ । कर्फ्यू क्षेत्र नजिकै थप प्रहरी तथा दंगा नियन्त्रण टोली परिचालन गरिएको छ ।
उता, जेन–जेड युवाहरूले “दोषीलाई पक्राउ नगरेसम्म आन्दोलन जारी रहने” चेतावनी दिएका छन् ।