बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ सिमरा बजारमा बुधबार जेनजी युवाहरू र नेकपा एमाले निकट युवा सङ्घबीच भएको झडपपछि उत्पन्न तनाव बिहीवार पनि उस्तै रह्यो ।
बिहानैदेखि डुमरवाना, पथलैया, जीतपुरलगायतका क्षेत्रबाट ठूलो संख्यामा जेनजी युवाहरू आएर आन्दोलनमा सहभागी भएपछि वातावरण थप तातिएको थियो । जेनजी समूहले ‘हिजो कुटपिटमा संलग्न एमाले कार्यकर्तालाई तत्काल पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाउनुपर्ने’ माग राख्दै प्रदर्शन उग्र बनाएको थियो । प्रहरीले सुरुमा सम्झाइ–बुझाइ गरे पनि स्थिति नियन्त्रणबाहिर जाँदा लाठीचार्ज गरेको र चार–पाँच जना घाइते भएको प्रहरीले जनाएको छ । त्यसपछि प्रदर्शनकारी प्रहरीमाथि नै जाइलागेपछि सिमरा बजारमा व्यापक ढुंगामुढा चलेको थियो । दुवै पक्षबीच दिउँसो १२:३० बजेसम्म द्वन्द्व चलेको स्थानीयले बताए ।
लगत्तै जिल्ला प्रशासन कार्यालय बाराले दिउँसो १ बजेदेखि राति ८ बजे सम्म सिमरा–पथलैया खण्ड तथा विमानस्थल वरपर कर्फ्यू घोषणा गर्यो । कर्फ्यू जारीसँगै प्रजिअ धर्मेन्द्रकुमार मिश्रले जेनजी अगुवासँग छलफलका लागि वार्ता आह्वान गरे । जेनजी पक्षले ‘प्रशासन घटनास्थलमै आएर वार्ता गर्नुपर्ने’ भन्दै अडान लिएको थियो । पछि प्रशासनले ‘कलैया कार्यालयमा सुरक्षित संवाद वातावरण रहेको’ भन्दै वार्ताको सहमति बनाएको हो ।
जेनजी अगुवा सम्राट उपाध्यायले ‘हिजो आक्रमणमा संलग्न युवा सङ्घका नेता अरविन्द साहलाई पहिलो प्राथमिकतामा पक्राउ गर्नुपर्ने’ प्रमुख शर्त राखेका थिए । यद्यपि, जिल्ला प्रहरी कार्यालय बाराले प्रारम्भिक अनुसन्धानका आधारमा वडाध्यक्ष धनबहादुर श्रेष्ठ (वि.सि.–२) र वडाध्यक्ष कैमुद्दीन अन्सारी (वि.सि.–६) लाई पक्राउ गरी अदालतबाट म्याद थप प्रक्रिया अघि बढाइएको जानकारी दिएको छ । उपाध्यायले उनीहरू लगायत अन्य विरूद्ध किटानी जाहेरी दर्ता गराएका छन् ।
बुधबार एमाले महासचिव शंकर पोखरेल र केन्द्रीय नेता महेश बस्नेत युवा सङ्घको प्रदेशस्तरीय भेलामा सहभागी हुन बुद्ध एयरमार्फत सिमरा उत्रँदै गर्दा जेनजी youths ले कालो झण्डा र विरोधका कार्यक्रम घोषणा गरेका थिए । सोही क्रममा भएको विवाद चर्कँदै जाँदा उपाध्यायमाथि हातपात भएको भन्दै जेनजी पक्ष थप आक्रोशित बनेको हो ।
हिजोदेखि लगातार जारी तनावका कारण सिमरा बजार पूर्णरूपमा बन्द, हवाई सेवा अवरुद्ध र पथलैया–वीरगंज सडकखण्डमा यातायात सञ्चालन ठप्प बनेको छ। प्रशासनले परिस्थितिलाई अत्यन्त संवेदनशील बताउँदै दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ ।