पर्सामा स्रोत नखुलेको १५ लाख रुपैयाँ हुण्डी रकमसहित एक व्यक्ति पक्राउ परेका छन् ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साको मातहत प्रहरी चौकी धोरे र सशस्त्र प्रहरी बल नेपालको टोलीले संयुक्त रूपमा गरेको चेकजाँचका क्रममा रकम बरामद गरेको हो । पर्साका प्रहरी नायब उपरिक्षक हरि बहादुर बस्नेतका अनुसार आइतबार दिउँसो करिब १४:३० बजे पकाहामैनपुर गाउँपालिका–१ धोरे चेकप्वाइन्ट नजिकै चेकजाँच भइरहेको बेला BR22AF4126 नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्दा लेगगार्डमा लुकाइएको ठुलो परिमाणको रकम फेला परेको हो ।
मोटरसाइकलमा सवार पकाहामैनपुर–१ निवासी ३४ वर्षीय अवधेश पटेललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
उनले बोकेको झोलामा
- रु १,००० दरका ७९० थान — रु ७,९०,०००
- रु ५०० दरका १,३०१ थान — रु ६,५०,५००
- रु १०० दरका ५६९ थान — रु ५६,९००
- रु ५० दरका ५० थान — रु २,५००
- रु २० दरका ५ थान — रु १००
गरी जम्मा रु १५,००,००० (पन्ध्र लाख रुपैयाँ) बरामद भएको प्रहरीले जनाएकाे छ ।
बरामद गरिएको नगद कालो प्लास्टिकमा बेरिएको अवस्थामा ‘पंकज मसाला’ लेखिएको झोलाभित्र लुकाइएकाले रकम वैध हो वा अवैध कारोबारका लागि ल्याइएको हो भन्नेबारे शंका उत्पन्न भएको प्रहरीले बताएको छ ।
उक्त घटनामा प्रयोग भएको मोटरसाइकल समेत बरामद गरी पटेललाई नियन्त्रणमा लिएर मुलुकी अपराध संहिता, २०७४ को दफा १२५(क) अनुसार हुण्डी कारोबार सम्बन्धी कसुरमा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरीले यस घटनालाई सीमावर्ती क्षेत्रमा बढ्दै गएको अवैध वित्तीय कारोबार (हुण्डी) नियन्त्रणतर्फको महत्वपूर्ण सफलताका रूपमा लिएको छ ।
यसअघि पनि वीरगंज आसपासका क्षेत्रमा पटक–पटक हुण्डी रकमसहित व्यक्तिहरू पक्राउ पर्दै आएको छ ।