पर्सा प्रहरीले १० लाख रुपैयाँ हुण्डी रकम सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा चेकजाँचकाे क्रममा वीरगञ्ज महानगरपालिका–१६ स्थित राजतजयन्ती चौक नजिकै भारतीय नम्बरको मोटरसाइकलबाट अवैध रकम बरामद गरेको हो । प्रहरीका अनुसार बिहारको मोतिहारी जिल्ला, रामगढवा थाना–७ बस्ने ५३ वर्षीय सुरेन्द्र साह मोटरसाइकलमा भारततर्फ जाने तयारीमा थिए । चेकजाँचका क्रममा सुरेन्द्र साहले मोटरसाइकलको एयर–फिल्टरमुनि लुकाएर राखेको नेपाली रुपैयाँ एक हजार दरका सात सय थानकाे ७ लाख, रू पाँचसय दरका ६ सय थानकाे रू. ३ लाख गरी १० लाख रूपैयाँ बरामद गरेकाे हाे ।
अवैध रूपमा रकम ओसारपसार (हुण्डी) काराेबार गरिरहेको अवस्थामा पक्राउ परेका साह माथि थप आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक सुदिप राज पाठकले बताए ।
प्रहरीले बरामद भएको रकम, मोटरसाइकल र अन्य सामग्री प्रमाणस्वरूप राखेर थप अनुसन्धानमा साहलाई जिल्ला प्रहरी कार्यालयकाे हिरासतमा राखेको छ ।