वीरगंज महानगरपालिकाले वडा नं. २ छपकैयास्थित रेल्वे रोड छेउमा निर्माण गरेको सुविधासम्पन्न तरकारी तथा फलफूल थोक बजार आइतबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ ।
लामो समयदेखि अव्यवस्थित रूपमा सञ्चालन हुँदै आएको थोक बजारलाई व्यवस्थित, सुरक्षित र आधुनिक बनाउने उद्देश्यले महानगरले उक्त संरचना निर्माण गरी सञ्चालनमा ल्याएको हो । यसअघि वीरगंजको घण्टाघर छेउमा पर्ने विपी उद्यानको खुला तथा सार्वजनिक जग्गामा थोक तरकारी तथा फलफूल बजार वर्षौँदेखि अव्यवस्थित ढंगले सञ्चालन हुँदै आएको थियो । उक्त अवस्थालाई मध्यनजर गर्दै वीरगंज महानगरपालिकाले छपकैयाको रेल्वे रोड छेउको सार्वजनिक जग्गामा करिब ७० लाख रुपैयाँ लागतमा सटरसहितको थोक बजार निर्माण गरेको हो ।
पहिलो चरणमा १४ युनिटमा २८ वटा सटर निर्माण गरिएको छ, जसमा थोक तरकारी तथा फलफूल पसल र गोदाम सञ्चालन गरिनेछ । यसकासाथै बजार परिसरभित्र शौचालय, ढल निकास, खानेपानी, विद्युत् तथा सुरक्षा व्यवस्थालगायतका आधारभूत पूर्वाधारसमेत उपलब्ध गराइएको छ । आइतबार आयोजित उद्घाटन कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले नवनिर्मित थोक तरकारी तथा फलफूल बजारको औपचारिक उद्घाटन गरेर यस बराज यस क्षेत्रको पहिचानकाे रूपमा रहेकाले बजारलाई सफा र व्यवस्थित राख्न स्थानीयको भूमिका महत्वपूर्ण हुने जोड दिएका थिए ।
मेयर सिंहका अनुसार व्यवस्थित थोक बजार निर्माणको योजना अढाई वर्षअघि नै बनेको भए पनि विपी उद्यान क्षेत्रमा रहेका तरकारी तथा फलफूल व्यवसायीका कारण स्थानान्तरण प्रक्रिया ढिलाइ भएको थियो । अब विपी उद्यानलाई हरित पार्कका रूपमा विकास गर्दै त्यहाँ सञ्चालन हुँदै आएको अव्यवस्थित बजार हटाइने र सम्पूर्ण व्यवसायीलाई छपकैयामा सञ्चालनमा आएको नयाँ थोक बजारमा स्थानान्तरण गरिने बताए ।
उद्घाटन कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले व्यवस्थित थोक बजार सञ्चालनले किसान, व्यवसायी र उपभोक्ता सबैलाई लाभ पुग्ने बताएका थिए । उनले अब किसानले सहज रूपमा उत्पादन ल्याउन सक्छन्, उपभोक्ताले व्यवस्थित रूपमा खरिद गर्न सक्ने बताए ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णका अनुसार पहिलो चरणमा निर्माण सम्पन्न भइसकेको बजारमा सबै आधारभूत सुविधा उपलब्ध गराएकाे बताए । उनले आगामी चरणमा थप ७० लाख रुपैयाँ लगानी गर्दै युनिट संख्या तथा भौतिक संरचना विस्तार गर्ने योजना रहेको बताए । खुद्रा र थोक कारोबारलाई छुट्टाछुट्टै संरचनाबाट सञ्चालन गरिने भएकाले व्यवसायीलाई दीर्घकालीन योजनासहित कारोबार गर्न सहज हुने र रोजगारीका अवसरसमेत सिर्जना हुने उनको भनाइ छ ।
छपकैयामा निर्माण गरिएको उक्त बजार रहेको जग्गा करिब तीन दशकदेखि विवादमा रहँदै आएको थियो । महानगरपालिकाले कानुनी प्रक्रियाबाट सार्वजनिक कायम भएको उक्त जग्गामा निर्माण गरिएको बजार पूर्ण रूपमा कानुनी रूपमा सुरक्षित रहेको दाबी गरेको छ । नयाँ थोक बजार सञ्चालनमा आएसँगै वीरगंजको बजार व्यवस्थापन, शहरी सौन्दर्य र उपभोक्ता–किसान हितमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ ।