जितपुरसिमरा उपमहानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष चतुरबाबु वाग्लेले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आफ्ना सेवा–सुविधाबाट प्राप्त रकम जनकल्याणमा खर्च गर्ने परम्परालाई निरन्तरता दिँदै आएका छन् ।
औपचारिक गोष्ठी, सेमिनार र तालिमभन्दा प्रत्यक्ष रूपमा जीवनमा प्रभाव पार्ने सहयोग नै लक्षित वर्गका लागि बढी उपयोगी हुने विश्वासका साथ अध्यक्ष वाग्लेले यसअघि अपाङ्गता भएका व्यक्तिहरूलाई चार वटा पाडी वितरण गरेका थिए । उक्त कार्यक्रमबाट सेवाग्राहीहरूको जीवनयापनमा सकारात्मक परिवर्तन आएको अनुभव भएपछि यस वर्ष पनि कार्यक्रमलाई थप प्रभावकारी रूपमा निरन्तरता दिइएको हो ।
चालू आर्थिक वर्षमा वडा भित्रका गरिब तथा विपन्न परिवारहरूलाई ११ वटा जर्सी गाईका बाछा वितरण गरिएको छ । घरमै बसेर आय–आर्जनको अवसर सिर्जना गर्ने उद्देश्यले गरिएको यस पहलले लक्षित परिवारहरूमा नयाँ उत्साह थपेको अपाङ्ग सेवा संघ बारा का अध्यक्ष गंगाप्रसाद वाग्लेले जानकारी दिनुभयो ।
जर्सी गाई पालनबाट प्राप्त हुने दूध, बाछा–बछी तथा अन्य उत्पादनले परिवारहरूको आर्थिक अवस्था सुधार हुने अपेक्षा गरिएको छ । अध्यक्ष वाग्लेले आफ्नै सेवा–सुविधाबाट प्राप्त रकम समुदायको हितमा खर्च गर्ने निर्णयलाई स्थानीयवासीहरूले उच्च सम्मानका साथ स्वागत गरेका छन् ।
वडा नं. १८ मा सामाजिक समावेशीकरण, आर्थिक सशक्तिकरण तथा आत्मनिर्भरता अभिवृद्धि गर्ने यस्ता कार्यक्रम आगामी दिनमा पनि निरन्तर जारी रहने वडा अध्यक्ष वाग्लेले बताउनुभयो ।