काठमाडौँमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई) ले आफ्नै चार महिनाको सहोदर छोराको हत्या गरेका छन् ।
काठमाडौँ महानगरपालिका–९ सिनामंगलमा डेरा गरी बस्दै आएका नेपाल प्रहरीका सहायक निरीक्षक पुष्कर कार्कीले आइतबार आफ्नै चार महिनाको छोराको हत्या गरेका हुन् । प्रारम्भिक अनुसन्धानअनुसार बिरामी छोराको उपचारका विषयमा पतिपत्नीबीच विवाद भएको र सोही विवादका क्रममा घटनामा पुगेको प्रहरीले जनाएको छ ।
हत्या गरेर फरार हुने क्रममा रहेका कार्कीलाई प्रहरीले नागढुंगाबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक (एसपी) तथा प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिनुभयो । पक्राउ परेका कार्कीलाई हिरासतमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका असई कार्कीको स्थायी घर सुदूरपश्चिम प्रदेशको डोटी जिल्ला हो । उनी र उनकी पत्नी दुवै नेपाल प्रहरीकै सेवामा कार्यरत रहेको खुलेको छ ।
घटनाका क्रममा पतिपत्नीबीच भएको झगडाबाट श्रीमती कृष्णा कुँवरसमेत घाइते भएकी छन् । उनलाई हाल महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा उपचारका लागि भर्ना गरिएको प्रहरीले जनाएको छ ।