रौतहटको चन्द्रनिगाहपुरमा रहेको डिभिजन वन कार्यालयमा मंगलबार साँझ तोडफोड गरिएको छ । रंगपुर साझेदारी वन उपभोक्ता समूहका पदाधिकारीहरूले कार्यालय समयपछि आएर तोडफोड गरेको डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्तप्रसाद साहले जानकारी दिनुभयो ।
तोदफोडका क्रममा कार्यालयभित्र रहेका फर्निचर, कम्प्युटर तथा झ्यालका सिसामा क्षति पुगेको प्रमुख साहले बताउनुभयो ।
यता रंगपुर साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष अशोकप्रसाद यादवले भने डिभिजन वन कार्यालय प्रमुख साहको व्यवहारका कारण उपभोक्ता समूहका पदाधिकारी बाध्य भएर आन्दोलन स्वरूप तोडफोडमा उत्रनुपरेको दाबी गर्नुभयो ।
अध्यक्ष यादवका अनुसार प्रमुख साह रौतहट आएसँगै सःमिलसँग साँठगाँठ गरी गुणस्तरीय काठ टेन्डर गर्ने, दिगो वन व्यवस्थापन परियोजनाअन्तर्गत पुराना रूख निकाल्ने कार्यका लागि कार्ययोजना बनाउँदा आफ्ना अनुकूलका संस्थासँग मात्र सम्झौता गर्न दबाब दिने तथा विकास निर्माणका काम सुरु गर्न अनावश्यक प्रक्रिया देखाउँदै बारम्बार आलटाल गर्ने गरेको आरोप छ ।
हालको सरकारको मुख्य उद्देश्य भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्नु र जनताको हितमा काम गर्नु भए पनि डिभिजन वन कार्यालय रौतहटका प्रमुखले पुरानै रबैया अपनाएको यादवले आरोप लगाउनुभयो ।
घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।