जेनजी आन्दोलनका क्रममा तोडफोड,लुटपाड र आगजनी गरेर ध्वस्त पारिएको वीरगन्ज महानगरपालिका कार्यालयको प्रशासनीक कार्य सञ्चालनका लागि विभिन्न संघसंस्थाले सहयोग गर्ने क्रम जारी रहेको छ । यसैक्रममा बुधबारपनि वीरगन्जस्थित विभिन्न वाणिज्य बैंकहरुले महानगरपालिकाको कार्यालयलाई मोनिटरसहितका ९ थान कम्प्युटर सेट सहयोगका रुपमा प्रदान गरेका छन् ।
गएको भदौ २३ र २४ गते ‘जेन्जी’ नामक आन्दोलनका क्रममा भएको लुटपाट, तोडफोड र आगजनीका कारण महानगरपालिकाको भवन तथा कार्यालयका सामग्रीहरू पूर्णरूपमा नष्ट भएपछि नगरपालिकाका सेवाहरु प्रवाह प्रभावित बनेका थिए ।
बुधबार वीरन्जमा सञ्चालनमा रहेका एभरेष्ट बैंक, लक्ष्मी सनराइज बैंक, सिद्धार्थ बैंक, कुमारी बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंक, सिटिजन बैंक इन्टरनेशनल र प्राइम कमर्सियल बैंक लिमिटेडले एक–एक थान गरी ९ थान कम्प्युटर सहयोग गरेका हुन् । वीरगन्ज महानगरपालिकाका सद्भावना दूत अशोक वैद्यको पहलमा ती बैंकका शाखा प्रबन्धकहरूले महानगरपालिकाको कार्यालयमा पुगेर मेयर राजेशमान सिंहलाई कम्प्युटर सेट हस्तान्तरण गरेका हुन् ।
त्यसअवसरमा वीरगन्ज महानगरका मेयर सिंहले बैंकहरूले विगतदेखि नै सहयोग गर्दै आएको उल्लेख गर्दै संकटको समयमा पुनः सहयोग उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गरे । ‘महानगरको सम्पत्ति जल्नु भनेको नगरवासीकै सम्पत्ति नष्ट हुनु हो । यस्तो कठिन घडीमा साथ र समर्थन जनाउने सबै संघ–संस्थाप्रति हामी कृतज्ञ छौं । यसले फेरि उठ्ने हिम्मत र ऊर्जा दिएको छ,’ मेयर सिंहले भने ।
वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्णले संकटका समयमा बैंकहरुबाट प्राप्त सहयोगले महानगरको दैनिक प्रशासनीक कार्य र अन्य सेवा सञ्चालनमा धेरै नै राहत पुग्ने बताए ।
बैंकर एशोसिएशन पर्साका संयोजक एंवं लक्ष्मी सनराइज बैंक वीरगन्ज शाखाका प्रमुख रोहिणी आचार्यले नगरवासीलाई सहज सेवा उपलब्ध गराउनु बैंकहरूको दायित्व भएको बताउँदै महानगरपालिकालाई आवश्यक उपकरणहरू सहयोगपूर्वक उपलब्ध गराएको बताए ।
यसअघि वीरगन्ज महानगरपालिकालाई नै सूर्य नेपाल, औषधि व्यवसायी संघ पर्सा, एनपीएल समाज कल्याण संस्था, ब्रिटानिया नेपाल लगायत विभिन्न संघ–संस्थाले कम्प्युटर, ल्यापटप, प्रिन्टर तथा फर्निचर सामग्री सहयोग गरिसकेका छन् ।