बाराको निजगढ नगरपालिका–७ स्थित जनज्योति सामुदायिक वन उपभोक्ता समूहले डिभिजन वन कार्यालय, बाराको सहयोगमा प्राङ्गारिक कम्पोस्ट मल उत्पादन कार्य सुरु गरेको छ । वन क्षेत्रमा रहेका अनावश्यक झाडी, बुट्यान र लहरा प्रजातिलाई मेशिनको माध्यमबाट ससाना टुक्रा पारेर मल बनाउने प्रविधिको प्रयोग गर्दै फोहोरलाई मोहोरमा परिणत गर्ने कार्यमा वन समूह अग्रसर भएको छ ।
वन समूहले वनमारा, ताप्रे, माइकेनिया लगायतका अनावश्यक झाडी र बुट्यानहरू सङ्कलन गरी मेशिनबाट काटेर कम्पोस्ट मल उत्पादन प्रक्रिया पूरा गरिसकेका छन् । यसले समूहको लागि थप आर्थिक आम्दानी सिर्जना गर्नेछ भने अन्य उपभोक्ताहरूका लागि रोजगारी सिर्जना र खेतीबालीमा आवश्यक मल उपलब्ध गराउने काम हुनेछ ।
डिभिजन वन कार्यालय, बाराका प्रमुख राजीवकुमार झाले यस प्रविधिको महत्व औंल्याउँदै भने, “वनमा रहेका अनावश्यक झाडी काट्दा सरसफाइ र त्यही झाडीबाट मोहोर उत्पादन हुने दोहोरो फाइदा हुनेछ । यस प्रविधिलाई अन्य सामुदायिक वन समूह र साझेदारी वनमा पनि प्रयोग गर्न प्रोत्साहित गर्नेछौं ।”
जनज्योति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष खड्गबहादुर मोक्तानका अनुसार, मेशिन खरीदका लागि कुल रकमको ५० प्रतिशत डिभिजन वन कार्यालयले अनुदान दिएको छ भने बाँकी रकम वन समूहले लगानी गरी कुल रु ४ लाख १५ हजारमा मेशिन खरिद गरिएको हो ।
अघिल्ला वर्षमा झाडी सरसफाइ गर्दा वनमारा, माइकेनिया झारपात जलाउने गर्दा वायु प्रदूषण हुने गरेको थियो । तर अहिले मेशिन प्रयोगबाट झाडी काटेर प्राङ्गारिक कम्पोस्ट मल उत्पादन गर्दा वायु प्रदूषण नहुने देखिएको छ ।
यस प्रविधिबाट न केवल वन सरसफाइमा सुधार आउनेछ, तर वन समूहका सदस्यहरूको आर्थिक अवस्था सुधार्ने र पर्यावरण संरक्षणमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।