रौतहटको चन्द्रपुर नगरपालिका–४ नजिक आज बिहान ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । दुर्घटना पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचक नजिक बिहान करिब ८ बजे भएको थियो ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर राजेन्द्र थापा मगरका अनुसार, बागमती प्रदेश–०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार ओभरटेक गर्ने क्रममा ठोक्किँदा घटना भएको हो ।
दुर्घटनामा कारमा सवार निजगढ–३, बाराका ७९ वर्षीय भक्तबहादुर खत्रीको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ । कार चालक निजगढका ३० वर्षीय दिनेश थपलियाको टाउको र अनुहारमा चोट लागेको छ भने कारमा रहेका चन्द्रपुर–६ का २० वर्षीय डोरमणि सापकोटालाई छाती दुख्ने समस्या देखिएको छ ।
घटनापछि ट्रक चालक मकवानपुर, हेटौंडा–७ का ५३ वर्षीय श्यामबहादुर तितुङलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।