बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका विभिन्न स्वास्थ्य चौकीहरूमा जीवनजल र आयरन चक्कीको अभाव देखिएको छ । स्थानीयवासी र सेवाग्राहीहरूले लामो समयदेखि आवश्यक औषधि नपाउँदा समस्या सार्वजनिक भएको हो ।
उपमहानगरपालिकाको स्टोरमा भने यी औषधिहरू पर्याप्त मात्रामा रहेको दाबी गरिएको छ । उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवर्द्धन शाखा प्रमुख रबि भाष्करले स्टोरमा चाहिने जति जीवनजल र आयरन चक्की रहेको बताएका छन् । तर आधारभूत स्वास्थ्य चौकीसम्म आपूर्ति नपुग्दा वास्तविक सेवा लिने नागरिकहरू प्रभावित बनेका छन् ।
जीतपुर स्वास्थ्य चौकीमा उपचारका लागि पुगेका एक सेवाग्राहीले धेरै दिनसम्म जीवनजल र आयरन चक्की नपाएपछि समस्या बाहिर आएको र अन्य स्वास्थ्य चौकीहरूमा पनि यस्तै अवस्था रहेको पुष्टि भएको बताएका छन् । स्वास्थ्य चौकीमा चिकित्सक (डाक्टर) सेवा उपलब्ध भए पनि बिरामीले प्रायः डाक्टरको सेवा नपाउने गुनासो गरेका छन् । अधिकांश बिरामी अनमी र अहेबबाट जाँच र औषधि पाउँछन् ।
जीतपुर आधारभूत स्वास्थ्य चौकीका सिनियर अहेब प्रबिन कुमार झाले भने, “उपमहानगरपालिकामा जीवनजल र आयरन चक्कीको अभाव भएका कारण स्वास्थ्य चौकीमा ल्याउन नसकिएको हो ।”
स्थानीयहरूले समयमै औषधि नपाउँदा विशेषगरी महिला, बालबालिका र दीर्घरोगीहरू बढी प्रभावित भएको बताएका छन् । स्वास्थ्य चौकीमा नियमित औषधि उपलब्ध गराउने जिम्मेवारी बोकेको उपमहानगरपालिकाले आन्तरिक व्यवस्थापनका कारण आपूर्तिमा ढिलाइ हुन सक्ने बताएको छ ।
सेवाग्राहीहरूले भने, “स्टोरमा औषधि उपलब्ध छ भन्ने र चौकीमा नपाइने अवस्था बीचको विसंगति तत्काल समाधान हुनुपर्छ,” भन्दै सम्बन्धित निकायलाई गम्भीर हुन आग्रह गरेका छन् ।