वीरगञ्ज महानगरपालिकाले घण्टाघर चोकसँगै रहेको बिपी उद्यान अतिक्रमण गरी अस्थायी रूपमा सञ्चालन हुँदै आएका पसलहरू हटाएको छ ।
मुख्य सहर क्षेत्रलाई व्यवस्थित बनाउने उद्देश्यका साथ महानगरले आज बिहानदेखि डोजर प्रयोग गरी बिपी उद्यान क्षेत्र खाली गराएको हो । महानगर प्रमुख राजेशमान सिंहका अनुसार उद्यान क्षेत्रमा फलफूल, तरकारी, कपडा तथा विभिन्न खानाका स्टलहरू सञ्चालन हुँदा पार्क क्षेत्र अत्यन्तै अव्यवस्थित बनेको थियो । “अव्यवस्थित बजारलाई आज बिहान डोजर लगाएर हटाउने काम गरेका बताए । उनका अनुसार यहाँ व्यापार गर्दै आएकाहरूले सरसमान हटाइरहेका छन् ।

बिपी उद्यान क्षेत्रमा करिब २ सय ५० भन्दा बढी अस्थायी पसल तथा घरटहरा सञ्चालन हुँदै आएका थिए । ती संरचना हटाएर उक्त स्थानमा करिब ७० करोड रुपैयाँको लागतमा सुन्दर, व्यवस्थित र हरियाली पार्क निर्माण गर्ने योजना महानगरको रहेकाे छ । हटाइएका व्यवसायीहरूका लागि छपकैयाँस्थित रेल्वे सडक क्षेत्रमा आवश्यक संरचना तयार गरिएको छ ।
बजार हटाउने क्रममा सम्भावित अवाञ्छित गतिविधि रोक्न नगर प्रहरी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको बाक्लो उपस्थितिमा उद्यान क्षेत्र खाली गराइएको हाे ।