पर्साको ग्रामीण क्षेत्रमा किसानलाई सहुलियत मूल्यमा वितरण गर्नुपर्ने सरकारी अनुदानको रासायनिक मल कालोबजारी हुँदै आएको पुनः खुलासा भएको छ । पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ महुवनबाट प्रहरीले कालोबजारीका लागि लैजाँदै गरिएको सरकारी अनुदानको १५ बोरा डिएपी मल शनिबार नियन्त्रणमा लिएको हो ।
रातो नम्बर प्लेटको ई–लोडरमा मल लोड गरी महुवनबाट अन्य गाउँतर्फ अवैध रूपमा लैजाँदै गरेको अवस्थामा प्रहरी चौकी महुवनको टोलीले शनिबार बिहान मल, ई–लोडर र चालकलाई नियन्त्रणमा लिएको थियो । तर पछि प्रहरी चौकी महुवनका इन्चार्ज उमेश यादवले मल मात्रै जफत गरी ई–लोडर र चालकलाई छोडिदिएको स्थानीयले आरोप लगाएका छन् । जफत गरिएको मल आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेलले अवैध रूपमा अन्यत्र लैजाँदै गरिएको १५ बोरा डिएपी मल मात्रै प्रहरी चौकी महुवनबाट बुझिएको जानकारी दिनुभयो । मल लोड गरिएको सवारीसाधन र त्यसका चालक भने पक्राउ नपरेको उहाँले स्पष्ट पार्नुभयो । बरामद मल आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइने उहाँले जानकारी दिनुभयो ।
नेपाल सरकारले विदेशबाट महँगोमा खरिद गरी ल्याउने रासायनिक मल किसानलाई सहुलियतमा उपलब्ध गराउन कृषि सहकारी संस्थामार्फत वितरण गर्दै आएको छ । तर महुवनका स्थानीय किसानका अनुसार नियन्त्रणमा लिइएको १५ बोरा डिएपी मल स्थानीय केही व्यापारीले कृषि सहकारी संस्थाबाट गैरकानुनी रूपमा खरिद गरी कालोबजारी गर्दै आएका थिए । उक्त मल अन्य गाउँमा लैजाँदै गर्दा स्थानीयले देखेर प्रहरीलाई खबर गरेपछि नियन्त्रणमा लिइएको किसानहरूको भनाइ छ ।
स्थानीय किसानका अनुसार शनिबार बिहान मलसहितको गाडी नियन्त्रणमा लिएर प्रहरी चौकीमा ल्याइएपछि मल कालोबजारीमा संलग्न व्यापारीहरू चौकीमा पुगेर दबाबसमेत दिएका थिए । सरकारी अनुदानको मल बरामद भएको खबर फैलिन थालेपछि प्रहरी चौकी महुवनका प्रहरी सहायक निरीक्षक यादवले चालक र सवारीसाधनलाई उन्मुक्ति दिई मल मात्रै जफत गरेर इलाका प्रहरी कार्यालय पोखरियामा बुझाएको स्थानीयको आरोप छ ।