काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचन–२०८२ का लागि सातै प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ ।
निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार पुस २ गते बुधबार बसेको आयोगको निर्णयअनुसार सातै वटा प्रदेशको प्रदेश राजधानी रहेका जिल्लामा मतदान स्थल तथा मतदान केन्द्र निर्धारण गरिएको हो ।
उहाँका अनुसार कोशी प्रदेशका लागि मोरङस्थित प्रदेश निर्वाचन कार्यालय, कोशी प्रदेशको परिसर, विराटनगरलाई मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ ।
यसैगरी मधेस प्रदेशका लागि धनुषाको महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुरमा मतदान हुने छ । बागमती प्रदेशका लागि मकवानपुरको भुटनदेवी माध्यमिक विद्यालय, हेटौंडा उपमहानगरपालिकामा मतदान स्थल निर्धारण गरिएको छ ।
गण्डकी प्रदेशका लागि कास्कीस्थित प्रदेश निर्वाचन कार्यालय, गण्डकी प्रदेशको परिसर, पोखरामा मतदान केन्द्र रहनेछ । लुम्बिनी प्रदेशका लागि दाङको कर्मचारी मिलन केन्द्र, घोराहीमा मतदान हुने आयोगले जनाएको छ ।
त्यसैगरी कर्णाली प्रदेशका लागि सुर्खेतस्थित प्रदेश निर्वाचन कार्यालय, कर्णाली प्रदेशको परिसर, वीरेन्द्रनगरमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ ।

प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रदेश सभाका सदस्य, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख सम्मिलित निर्वाचक मण्डल रहने व्यवस्था रहेको आयोगले जनाएको छ ।