सशस्त्र प्रहरी बल नेपालले बाराका विभिन्न सीमा क्षेत्रमा अवैध रुपमा ल्याइँदै गरेको सामान बरामद गरेको छ ।
विश्रामपुर गाउँपालिका–१ छतवा सीमा क्षेत्रमा सीमा सुरक्षा गुल्म मटिअर्वाबाट हवल्दार जितेन्द्र गिरीकाे नेतृत्वमा खटिएको टोलीले भारतबाट अवैध रूपमा तीन जनाले टाउकोमा बोकी ल्याउँदै गरेको करिब ७१ हजार रुपैयाँ बराबरको किराना सामान बरामद गरेको छ । त्यसैगरी विश्रामपुर गाउँपालिका–१ छतवा सीमा क्षेत्रमा सीमा सुरक्षा गुल्म मटिअर्वाबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा तीन जनाले टाउकोमा बोकी ल्याउँदै गरेको अवस्थामा करिब ७१ हजार रुपैयाँ बराबरको किराना सामान बरामद गरेको छ ।
कलैया उपमहानगरपालिका–१० निलकण्ठवा सीमा क्षेत्रमा सहायक निरीक्षक सुदिप अर्यालको नेतृत्वमा खटिएको टोलीले मोटरसाइकलमा ल्याउँदै गरेको हार्डवेयर सामान बरामद गरेको छ। बरामद हार्डवेयरको मूल्य करिब ६० हजार रुपैयाँ र मोटरसाइकलसहित कुल १ लाख ६० हजार रुपैयाँ बराबर रहेको छ।
त्यस्तै सुवर्ण गाउँपालिका–३ सन्तगंज सीमा क्षेत्रमा निरीक्षक विश्वराज कार्कीको टोलीले भारतबाट टाउकोमा बोकी ल्याइएको मोटर पार्ट्स बरामद गरेको छ । सोको मूल्य करिब १ लाख २० हजार रुपैयाँ रहेको बताइएको छ ।
त्यस्तै, कलैया उपमहानगरपालिका–१० मटिअर्वा सीमा क्षेत्रमा नायब निरीक्षक रामशरण सिलवालको टोलीले तीन जनाले ल्याएको ४५ हजार रुपैयाँ बराबरको कस्मेटिक सामान र कपडा बरामद गरेको छ ।
विश्रामपुर गाउँपालिका–४ बलिरामपुर सीमा क्षेत्रमा नायब निरीक्षक सूर्यप्रसाद रेग्मीको टोलीले नेपालबाट भारततर्फ साइकलमा लैजाँदै गरेको रेडिमेड कपडा, नेपाली जिट सुर्ती तथा भारतबाट नेपाल ल्याइएको ३५ हजार रुपैयाँ बराबरको लेडीज कुर्ता–सुरुवाल बरामद गरेको छ ।
बरामद गरिएका सबै सामान भन्सार कार्यालयमा बुझाएकाे सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बाराका गणपति एवं उपरीक्षक खुमबहादुर केसीले दिएका छन् ।