राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालत तुलसीपुर बुटवल इजलासले आदेश दिएको छ ।
उच्च अदालतको बुटवल इजलासले नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हाे । अदालतका मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेजनारायण पौडेलको संयुक्त इजलासले लामिछानेलाई २ करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटीमा राख्न आदेश गरेको छ । धरौटी रकम बुझाएपछि लामिछाने थुनामुक्त हुनेछन् ।
अदालतले आफ्नो आदेशमा उल्लेख गरेको छ कि लामिछानेले विगो बराबरको रकम धरौटीमा राख्न तयार भएको निवेदन दिएका थिए । यसै आधारमा पुर्पक्षका लागि थुनामा पठाउने अघिल्लो आदेशलाई रद्द गर्दै धरौटीमा रिहा गर्ने निर्णय भएको हो । सोही मुद्दाका अर्का प्रतिवादी छविलाल जोशीको हकमा भने अदालतले जिल्ला अदालतको आदेश बदर गर्दै मिसिल पुनः जिल्ला अदालतमै फिर्ता पठाएको छ। जोशीका कानुन व्यवसायीले बहसका क्रममा बैंक जमानतको छायाप्रति मात्र पेस गरेको हुँदा, उनले सक्कल प्रमाणसहित निवेदन दिएमा पुनः विचार गर्न भन्दै अदालतले मिसिल सुरु जिल्ला अदालत रुपन्देहीमा पठाउने आदेश दिएको हो ।
यस आदेशपछि नख्खु कारागारमा रहेका लामिछाने रिहा हुने भएको छ । तर रविका अधिवक्त्ता कानुनी सल्लाहकार डा.नारायणदत्त कंडेलकाअनुसार अदालतको आदेश आधारमा अब रवि लामिछाने कारागारमुक्त हुन भने केही प्रक्रिया पुरा हुनुपर्छ । अधिवक्ता कंडेलकाअनुसार अब उच्च अदालतको आदेश जिल्ला अदालत रूपन्देही पठाउनुपर्छ । उक्त आदेश जिल्ला अदालतले नख्खु कारागार पठाउनु पर्छ । त्यसपछि नख्खुु कारागारले लामिछानेलाई रूपन्देही जिल्ला अदालतमा पेश गर्ने र त्यसपछि लामिछानेले रिहाइ हुनेछन् ।
दोहोरो तेहरो प्रक्रियाका कारण लामिछाने आज रिहा हुने सम्भावना कम रहेको कँडेल बताउँछन् ।

