पर्साको जिराभवानी गाउँपालिकामा हालै सरुवा भइ आएका प्रमुख प्रशासकीय अधिकृत अमित गिरीले आइतबारदेखि औपचारिक रूपमा कार्यालयमा उपस्थित भई कार्यभार सम्हालेका छन् ।
गत मंगलबार संघीय सरकारअन्तर्गत सामान्य प्रशासन मन्त्रालयले देशभरका विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गरेको थियो । सोही क्रममा कालिकामाई गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत अमित गिरीलाई जिराभवानी गाउँपालिकामा र जिराभवानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहालाई कालिकामाई गाउँपालिकामा सरुवा गरिएको थियो ।
तर जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीले आफ्नो इच्छा र सहमति बिना सरकारले गिरीलाई पठाएको दाबी गर्दै प्रेस विज्ञप्ति जारी गरी गिरीलाई हाजिर गर्न नदिने अडान लिएका थिए ।
गाउँपालिका अध्यक्षको विरोधका बाबजुद गाउँपालिकाका सबै वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले आइतबार गाउँपालिका कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत गिरीलाई फुलमाला लगाएर भव्य स्वागत गरेका थिए । वडाध्यक्षहरू महादेव प्रसाद महतो, सुरज राय थारु, राजेश्वर दास थारु, दारा सिंह राउत थारु, कार्यपालिका सदस्य, वडा सदस्य, लेखा तथा प्राविधिक शाखाका कर्मचारी तथा विभिन्न वडाका कर्मचारीहरूको उपस्थितिमा गिरीले कार्यभार सम्हालेका हुन् ।
यसअघि गाउँपालिका अध्यक्ष चौधरीले पुस ३ गते सामाजिक सञ्जाल फेसबुकमार्फत प्रेस विज्ञप्ति सार्वजनिक गर्दै गिरीलाई जिराभवानी गाउँपालिकामा पठाउने सरकारको निर्णय रद्द गर्न माग गरेका थिए । उनले आफ्नो सहमतिमा मात्र नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाउन सरकारलाई आग्रह गर्दै अन्यथा उत्पन्न हुने परिस्थितिको जिम्मेवारी मन्त्रालयले लिनुपर्ने चेतावनीसमेत दिएका थिए ।
गत मंसिर १५ गते जिराभवानी गाउँपालिकामा बसेको गाउँकार्यपालिका (बोर्ड) बैठकले हाल कार्यरत प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहाले जनप्रतिनिधिको निर्देशन नमान्ने, लामो समयसम्म कार्यालय नआउने र कामकाज प्रभावित बनाएको निष्कर्ष निकाल्दै कुशवाहालाई अन्यत्र सरुवा गरी अमित गिरीलाई जिराभवानी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा पठाउन मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार मन्त्रालयले सरुवा गरेको हो ।
उल्लेखनीय छ, करिब डेढ वर्षअघि पनि अमित गिरी जिराभवानी गाउँपालिकामै प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत थिए । त्यसबेला गाउँपालिका अध्यक्ष चौधरीले अनुचित आर्थिक लाभसम्बन्धी काम गर्न दबाब दिएको तर गिरीले अस्वीकार गरेपछि उनीहरूबीच मतभेद बढेको र यही कारण हालसम्म अध्यक्षले गिरीप्रति असन्तुष्टि जनाउँदै आएको बताइएको छ ।