एउटै प्रज्ञापनपत्रका आधारमा ९ वटा भारतीय मालवाहक गाडी भन्सार प्रक्रिया पूरा गरी पास भएकोमा तीमध्ये ३ वटा गाडीमा अवैध तथा कागजातविपरीतका मालवस्तु फेला परेको दाबी सार्वजनिक भएपछि वीरगंज भन्सार कार्यालयको जाँच प्रणालीमाथि गम्भीर प्रश्न उठेको छ । तीनवटा गाडीमा कैफियत भेटिँदा एउटै प्रज्ञापनपत्रमा समावेश बाँकी ६ वटा गाडी कहाँ छन् र तिनको जाँच कसरी भयो भन्ने विषय अन्योलमा परेको छ ।
प्राप्त विवरणअनुसार, आरोही इन्टरप्राइजेजले भन्सार प्रक्रिया पूरा गराएको भारतीय ट्रक नम्बर UP 25 FT 3659 मा सुन्तलाको प्रज्ञापनपत्र प्रयोग गरी अवैध रूपमा भारतीय केरा आयात गरिएको पाइएको दाबी गरिएको छ । त्यस्तै, MH 30 CE 0083 नम्बरको अर्को ट्रकमा पनि सोही प्रकृतिको कैफियत भेटिएको बताइएको छ ।
यसैगरी, UK 04 CC 2831 नम्बरको ट्रकमा कागजातमा कम तौल देखाएर वास्तविकतामा बढी परिमाणमा स्याउ ल्याइएको पाइएको छ । तीनवटा गाडीमा फरक–फरक प्रकृतिका कैफियत भेटिएपछि भन्सार प्रक्रियामै त्रुटि भएको हो वा जाँचका क्रममा लापरबाही गरिएको हो भन्ने प्रश्न उठेको छ ।
एउटै प्रज्ञापनपत्रमा समावेश ९ वटा गाडीमध्ये तीनवटामा कैफियत भेटिँदा बाँकी ६ वटा गाडीको अवस्था झनै चासोको विषय बनेको छ । ती गाडीमा पनि प्रज्ञापनपत्रमा उल्लेख भएअनुसारकै मालवस्तु र परिमाण थियो कि थिएन भन्नेबारे भन्सार कार्यालयले स्पष्ट पारेको छैन ।
बाँकी ६ वटा गाडी भन्सार परिसर वा एकीकृत जाँच चौकी (आईसीपी) भित्रै छन् अथवा भन्सार प्रक्रिया पूरा गरेर बाहिरिसकेका छन् भन्ने विषयमा समेत आधिकारिक जानकारी सार्वजनिक भएको छैन । तीनवटा गाडीमा कैफियत भेटिएपछि बाँकी गाडीको पुनः जाँच तथा अनुसन्धान प्रक्रिया अघि बढाइएको छ वा छैन भन्ने प्रश्नसमेत उठेको छ ।
त्यस्तै, एउटै प्रज्ञापनपत्रमा समावेश बाँकी ६ वटा गाडीको नम्बर सार्वजनिक नहुनुले पनि थप शंका उत्पन्न गरेको छ । भन्सार अभिलेखमा सबै गाडीको विवरण रहने भए पनि तिनको नम्बर र अवस्थाबारे जानकारी सार्वजनिक नहुँदा भन्सार प्रशासनको पारदर्शितामाथि प्रश्न उठेको हो ।
यस विषयमा वीरगंज भन्सार कार्यालयका सूचना अधिकारीसँग प्रतिक्रिया लिन पछिल्लो चार दिनदेखि फोन सम्पर्क गर्ने प्रयास गरिए पनि सम्पर्क हुन सकेको छैन । फोन कहिले बन्द देखिने र फोन लाग्दा पनि नउठ्ने गरेको छ । सार्वजनिक सरोकारको विषयमा आधिकारिक धारणा लिन खोज्दा सम्बन्धित अधिकारीसँग सम्पर्क हुन नसक्नुले भन्सार प्रशासनको जवाफदेहितामाथि समेत प्रश्न खडा गरेको छ ।
राजस्व चुहावट नियन्त्रण तथा अवैध आयात रोक्ने जिम्मेवारी बोकेको भन्सार प्रशासनले एउटै प्रज्ञापनपत्रमा समावेश ९ वटै गाडीको विवरण, मालवस्तुको प्रकृति, परिमाण, तौल तथा जाँच प्रक्रियाबारे स्पष्ट जानकारी दिन आवश्यक छ ।
तीनवटा गाडीमा कैफियत भेटिएको विषयलाई छुट्टाछुट्टै कारबाहीमा सीमित नराखी समग्र प्रज्ञापनपत्र र त्यसअन्तर्गत भएका भन्सार प्रक्रियाको निष्पक्ष छानबिन हुनुपर्ने देखिन्छ । विशेषगरी बाँकी ६ वटा गाडी कहाँ छन्, तिनको नम्बर के हो र भन्सार जाँच कसरी गरिएको थियो भन्ने प्रश्नको जवाफ अब वीरगञ्ज भन्सार प्रशासनले दिनुपर्ने देखिन्छ ।