वीरगंज महानगरपालिका–छपकैयास्थित करिब १० करोड रुपैयाँ बजार मूल्य पर्ने जग्गाको स्वामित्व विवादमा भूमि प्रशासन कार्यालय, पर्साले छानबिन प्रक्रिया अघि बढाएको छ ।
साविक छपकैया वडा नं. ९ स्थित कित्ता नं. ५५३ को ०–३–१० क्षेत्रफलको जग्गा पुनः नापीका क्रममा ‘जुद्ध म्याच फ्याक्ट्री’ अर्थात सलाई फैट्रीको नाममा श्रेस्ता कायम गरिएको विषयमा कार्यालयले नापी कार्यालय पर्सासँग आवश्यक कागजात र स्पष्ट राय माग गरेको हो ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागअन्तर्गतको भूमि प्रशासन कार्यालय, पर्साले २०८३ साल असोज १६ गते पत्राचार गर्दै साविक कित्ता नं. ११ बाट कायम भएका कित्ता नं. ५५२ र ५५३ को प्रमाणित प्लटबुक उतार उपलब्ध गराउन नापी कार्यालयलाई निर्देशन दिएको छ ।
यस विवादको विषयमा शोभा रानी चिपालु र सरिता चिपालुले आफ्ना स्वर्गीय बुबा नारायण बहादुर चिपालुको नाममा रहेको जग्गाको श्रेस्ता कायम गरी हालसाबिक तथा नामसारी मार्फत जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउन माग गर्दै आएकी छन् ।
निवेदकहरूका अनुसार २०२१ सालको नापीका क्रममा नारायण बहादुर चिपालुको नाममा साविक छपकैया वडा नं. ४, कित्ता नं. ११ मा ०–८–१० क्षेत्रफलको जग्गा कायम भएको थियो । उक्त जग्गाको फिल्डबुकसमेत तयार भएको र जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरी भोगचलन गर्दै आएको उनीहरूको दाबी छ ।
त्यसमध्ये २०३८ सालमा ०–५–० क्षेत्रफलको जग्गा चिकित्सा शास्त्र अध्ययन संस्थान, वीरगंजलाई राजीनामा पारित गरी दिएको कागजातमा उल्लेख छ । बाँकी ०–३–१० क्षेत्रफलको जग्गा भने नारायण बहादुर कै नाममा कायम रहनुपर्ने निवेदकहरूको भनाइ छ ।
तर, पुनः नापीका क्रममा उक्त जग्गा ‘जुद्ध म्याच फ्याक्ट्री’को नाममा कायम गरी जग्गाधनी प्रमाणपुर्जा जारी गरिएको भन्दै निवेदकहरूले अनियमितताको आरोप लगाएका छन् ।
निवेदक पक्षले नापी अधिकृत दीपक कुमार सिंहको संलग्नता र प्रमुख नापी अधिकृत राकेश कुमार झाको सहमतिमा प्रक्रिया मिचेर जग्गाको स्वामित्व परिवर्तन गरिएको आरोप लगाएका छन् । वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह अध्यक्ष रहेको भनिएको कम्पनीको नाममा करोडौँको आर्थिक चलखेल गरी जग्गा कायम गरिएको उनीहरूको दाबी छ ।
यसअघि शोभा रानी र सरिता चिपालुले २०८१ माघ २१ गते दर्ता नं. २४४७३ मार्फत तत्कालीन भूमि सुधार तथा मालपोत कार्यालयमा हालसाबिक तथा नामसारीका लागि निवेदन दिएका थिए । सोही निवेदनका आधारमा तत्कालीन मालपोत कार्यालयले २०८२ जेठ १९ गते च.नं. ९३४३ को पत्रमार्फत नापी कार्यालयसँग जग्गाको हालसाबिक विवरण माग गरेको थियो ।
तर, प्रक्रिया अघि बढिरहे कै अवस्थामा विवादित जग्गाको श्रेस्ता अन्य पक्षको नाममा कायम गरिएको आशंका गर्दै पीडित पक्षले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्बन्धित मन्त्रीसमक्ष छानबिन तथा दोषीमाथि कारबाहीको मागसहित निवेदन दिएका थिए ।
हाल भूमि प्रशासन कार्यालयले नापी कार्यालयसँग निवेदकहरूको मागअनुसार सरिता चिपालु र शोभा रानी चिपालुको नाममा हालसाबिक तथा नामसारी गरी जग्गाधनी प्रमाणपुर्जा जारी गर्न मिल्ने वा नमिल्ने विषयमा स्पष्ट र कानुनी आधार सहितको राय माग गरेको छ ।
साथै, कित्ता नं. ५५२ र ५५३ को प्रमाणित प्लटबुक उतार समेत माग गर्दै कार्यालयले विवादको वास्तविकता स्पष्ट पार्न खोजेको छ ।
अब नापी कार्यालयबाट प्राप्त हुने अभिलेख, प्रमाण र रायका आधारमा जग्गाको वास्तविक स्वामित्व तथा पुनः नापीका क्रममा अपनाइएको प्रक्रियाबारे थप तथ्य खुल्नेछ ।