वीरगन्जस्थित हरिखेतान बहुमुखी क्याम्पसमा पहिलो पटक नेपाल विद्यार्थी संघको अग्रसरतामा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) गठन गरिएको छ ।
मंगलबार क्याम्पसमा नेविसंघद्धारा आयोजित विद्यार्थी भेलाले सुरज यादव अध्यक्ष रहने गरी ११ सदस्यीय स्ववियु गठन गरेको हो । नवगठित युनियनको उपाध्यक्षमा रञ्जन गुप्ता, सचिवमा आकाश कलवार, सह–सचिवमा प्रिन्स साह कानु र कोषाध्यक्षमा निभा कुमारी सर्राफ रहेका छन् । त्यस्तै सदस्यहरूमा इरशाद आलम, दिपेश ठाकुर, रामप्रवेश यादव, चन्दन शर्मा, सुदिप राज ठाकुर र मुस्कान पटेल रहेका छन् ।
ठाकुरराम बहुमुखी क्याम्पसका स्ववियु सभापति तथा नेपाल विद्यार्थी संघको स्ववियु परिषदका केन्द्रीय अध्यक्ष राजकुमार यादवले क्याम्पसमा देखिएका विभिन्न समस्या र बेथितिप्रति आफ्नो ध्यानाकर्षण भएको बताए । उनले भने, “हरिखेतान बहुमुखी क्याम्पसमा भइरहेको बेथितीप्रति मेरो ध्यानाकर्षण भएको छ । यहाँ भइरहेका समस्याको तुरुन्त समाधानका लागि सम्बन्धित निकायलाई जानकारी गराइसकेको छु र समयमा समाधान पनि हुनेछ ।”
यस्तै भेलाका प्रमुख अतिथि नेविसंघका केन्द्रीय सदस्य मुनराज तिवारीले विद्यार्थी हित, शैक्षिक गुणस्तर र क्याम्पस सुधारका लागि संगठित विद्यार्थी समूहको भूमिका आवश्यक रहेको उल्लेख गर्दै नवगठित युनियनलाई सक्रिय र जिम्मेवार भएर काम गर्न आग्रह गरे ।
नवगठित युनियनका अध्यक्ष सुरज यादवले क्याम्पसमा देखिएका शैक्षिक, प्रशासनिक तथा विद्यार्थीसम्बन्धी समस्या समाधानका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।