निर्वाचन आयोगले जरिवाना नतिरेका ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगको मंगलबार बसेको बैठकले कानुनअनुसार आवश्यक जरिवाना नतिरेका दलको दर्ता खारेज गर्ने निर्णय गरेको हो ।
आयोगका अनुसार तोकिएको समयसीमाभित्र जरिवाना नतिरेपछि सम्बन्धित दलहरूलाई स्पष्टीकरण सोधिएको थियो । तर, ती दलहरू आयोगको सम्पर्कमा नआएपछि निर्वाचन आयोग ऐन तथा दल दर्तासम्बन्धी कानुनी व्यवस्थाअनुसार दर्ता खारेज गरिएको हो ।
दर्ता खारेज गरिएका दलहरू निर्वाचन प्रयोजनका लागि दर्ता भएका दल नभएको आयोगले जनाएको छ । ती दलहरूले लामो समयदेखि कानुनी दायित्व पूरा नगरेको पाइएको आयोगको भनाइ छ ।
यसै बैठकले आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली पनि स्वीकृत गरेको छ । स्वीकृत मतदाता नामावलीअनुसार प्रदेश सभा सदस्य, गाउँपालिका अध्यक्ष–उपाध्यक्ष तथा नगरपालिका प्रमुख–उपप्रमुखहरूले राष्ट्रियसभा निर्वाचनमा मतदान गर्नेछन् ।
आयोगले राष्ट्रियसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र कानुनअनुसार सम्पन्न गर्न आवश्यक सबै तयारी अन्तिम चरणमा पुगेको पनि जनाएको छ । निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन सम्बन्धित निकायलाई निर्देशन दिइएको आयोगले जानकारी दिएको छ ।