मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले गरिरहेको सेवा भगवानको सेवासरह रहेको बताएका छन् ।
मानव सेवा आश्रम वीरगंज शाखाको ८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री पटेलले अलपत्र परेका बालबालिकादेखि असक्त ज्येष्ठ नागरिकसम्मलाई आश्रय, पालनपोषण र सेवा प्रदान गर्नु ईश्वररूपी कार्य भएको बताएका हुन् ।
“मानव सेवा आश्रमले भगवानले गर्ने जस्तै काम गरिरहेको छ । यस्ता मानवतामूलक सेवा समाजका लागि अत्यन्तै आवश्यक र सराहनीय रहेकाे मन्त्री पटेलकाे भनाइ थियाे ।
मानवताका क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको भए पनि मानव सेवा आश्रमले सरकारी निकायबाट अपेक्षित सहयोग नपाएकोप्रति दुःख व्यक्त गर्दै उनले आफू प्रदेश सरकारमा रहँदा आश्रमको दीर्घकालीन विकासका लागि भवन निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
“प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोगका लागि पहल गर्ने उनले बताए । यसैगरी उनले सरकारको मात्र भर नपरी समाजका सबै नागरिकले आ–आफ्नो स्थानबाट यस्ता संस्थालाई सहयोग गर्नु आवश्यक रहेकाे बताए ।
मानव सेवा आश्रम वीरगंज शाखाले हाल सडक मानव, असहाय बालबालिका तथा असक्त ज्येष्ठ नागरिकको संरक्षण, उपचार तथा पुनर्स्थापनाको कार्य गर्दै आएको छ । मानव सेवा आश्रमले २०७४ साल यता १ सय २३ जना पुरूष र २ सय जना महिला गरी ३ सय २३ जनाकाे उद्दार गरेकाे छ । जसमा ४७ जना पुरूषा र ८६ जना महिला गरी १ सय ३३ जनाकाे पारिवारिक पुनर्मिलन गराएकाे छ । यसैगरी ५४ जना पुरूषा र ४८ जना महिला गरी १ सय ३ जनाकाे सामुदायिक पुनस्थापना गरिएकाे मानव सेवा आश्रमले जनाएकाे छ । यसैगरी ८ वर्षकाे अवधीमा ३८ जनाकाे स्वर्गराेहण भएकाे कार्यक्रममा जानकारी गराइएकाे थियाे ।
कार्यक्रममा सहभागी वक्ताहरूले विगत आठ वर्षदेखि निरन्तर रूपमा मानवताको सेवामा समर्पित मानव सेवा आश्रमले समाजका असहाय, बेसहारा तथा कमजोर वर्गका नागरिकका लागि पुर्याउँदै आएको योगदानको प्रशंसा गरेका थिए ।