नेपाल राष्ट्र बैंकले आज एक वर्षका लागि बजारबाट २५ अर्ब रुपैयाँ झिक्न लागेको छ। उक्त रकम ‘नेपाल राष्ट्र बैंक ऋणपत्र’मार्फत सङ्कलन गरिने छ ।
गत हप्ता राष्ट्र बैंकले पहिलो पटक १० वर्षे ऋणपत्र जारी गरेको थियो भने त्यसपछि बुधबार पनि एक वर्षका लागि २५ अर्ब रुपैयाँ ऋणपत्रमार्फत झिकिएको थियो । आज फेरि यस्तै ऋणपत्रमार्फत २५ अर्ब रुपैयाँ सङ्कलन गर्न लागिएको छ । यस वर्ष जारी हुने यो तेस्रो राष्ट्र बैंक ऋणपत्र हो र यसको परिपक्व अवधि एक वर्ष रहनेछ ।
‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘ग’ नाम दिइएको यस ऋणपत्रमा बोलकबोल आज पुस २०, २०८२ मध्याह्न २ बजे हुने सूचनामा उल्लेख गरिएको छ ।
ऋणपत्रको ब्याजदर बोलकबोलमार्फत निर्धारण हुनेछ । ब्याज भुक्तानी ६/६ महिनामा गरिनेछ भने ऋणपत्रको साँवा भुक्तानी एक वर्षपछि, पुस २०, २०८३ मा हुनेछ ।
लगानीकर्ताले न्यूनतम ५ करोड र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा बाँकी निःशेष भाग जाने गरी बोलकबोलमा भाग लिन सक्ने व्यवस्था छ । यस ऋणपत्रलाई धितो राखेर बैंक तथा अन्य वित्तीय संस्थाबाट ऋण लिने अवसर समेत उपलब्ध हुनेछ ।
ऋणपत्र खरिद गर्न राष्ट्र बैंकबाट अनुमति पाएका ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू (काउण्टरपार्टी) लाई मात्र अनुमति दिइएको छ ।