नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ विद्युत् निर्यात गरी ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ। बाढीका कारण केही जलविद्युत् आयोजनाको उत्पादन प्रभावित भए पनि गत वर्षको असोज र चालु आर्थिक वर्षको भदौको तुलनामा विद्युत् निर्यातबाट प्राप्त रकम बढेको हो ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार बाढीले निर्यातका लागि स्वीकृति प्राप्त केही जलविद्युत् आयोजनामा क्षति पुर्याउँदा उत्पादन बन्द भए पनि असोज महिनामा विद्युत् निर्यातबाट प्राप्त कारोबार रकम वृद्धि भएको छ ।
प्राधिकरणको विद्युत् प्रणाली सञ्चालन विभागको तथ्याङ्कअनुसार असोज महिनामा भारततर्फ कुल ६३ करोड ३९ लाख ८६ हजार ८ युनिट विद्युत् निर्यात भएको छ। उक्त विद्युत् बिक्रीबाट ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
असोजमा निर्यात गरिएको विद्युत्मध्ये करिब दुई तिहाइ द्विपक्षीय विद्युत् बिक्री सम्झौताअनुसार र बाँकी भारतीय ऊर्जा विनिमय बजार (आईईएक्स) मार्फत बिक्री गरिएको थियो । द्विपक्षीय सम्झौताअनुसार भारतको हरियाणा र बिहार राज्यमा विद्युत् बिक्री गरिएको थियो भने बाँकी विद्युत् डे–अहेड तथा रियल टाइम बजारमा प्रतिस्पर्धी दरमा बिक्री गरिएको प्राधिकरणले जनाएको छ ।
गत वर्ष २०८२ को असोजमा भारततर्फ विद्युत् निर्यातबाट ४ अर्ब ९६ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो। त्यसको तुलनामा चालु आर्थिक वर्षको असोजमा निर्यात कारोबार ९६ करोड २० लाख रुपैयाँले बढेको छ ।
त्यस्तै, चालु आर्थिक वर्षको भदौमा विद्युत् निर्यातबाट ५ अर्ब ९ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो। भदौको तुलनामा असोजमा कारोबार रकम ८३ करोड २५ लाख रुपैयाँले वृद्धि भएको छ ।
चालु आर्थिक वर्षको पहिलो तीन महिना साउन, भदौ र असोजमा विद्युत् निर्यातबाट कुल १६ अर्ब १५ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको प्राधिकरणले जनाएको छ ।
बङ्गलादेशतर्फ ४० मेगावाट विद्युत् निर्यात पुनः सुरु
नेपालबाट भारतको प्रसारण प्रणाली प्रयोग गरी बङ्गलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत् निर्यात पुनः सुरु भएको छ। गत कात्तिक ६ गते शुक्रबार साँझदेखि निर्यात पुनः सुरु भएको प्राधिकरणले जनाएको छ ।
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको हिमबाढीका कारण त्रिशूली नदीमा आएको बाढीले बङ्गलादेशतर्फ विद्युत् निर्यातका लागि स्वीकृति प्राप्त त्रिशूली र चिलिमे जलविद्युत् केन्द्रमा क्षति पुर्याएपछि निर्यात रोकिएको थियो ।
भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट अन्य जलविद्युत् केन्द्रमा उत्पादित विद्युत् बङ्गलादेशतर्फ निर्यात गर्न अनुमति प्राप्त भएपछि निर्यात पुनः सुरु भएको कार्यकारी निर्देशक श्रेष्ठले बताए ।
नयाँ व्यवस्थाअनुसार त्रिशूली, देवीघाट र चिलिमे जलविद्युत् केन्द्रको सट्टा सोलु, काबेली–१ र तल्लो मोदी जलविद्युत् केन्द्रमा उत्पादित विद्युत् बङ्गलादेश तथा भारतको हरियाणा राज्यतर्फ निर्यात गर्न स्वीकृति प्राप्त भएको छ ।
नेपाल विद्युत् प्राधिकरण र बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डबीच २०८१ असोज १७ गते वर्षायामको विद्युत् निर्यातसम्बन्धी पाँचवर्षे सम्झौता भएको थियो। सम्झौताअनुसार प्रत्येक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म दैनिक ४० मेगावाट विद्युत् बङ्गलादेशमा निर्यात गरिँदै आएको छ।
भारततर्फ निर्यात अनुमति एक हजार १७९ मेगावाट पुग्यो
यसैबीच, भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट थप ३१ मेगावाट विद्युत् निर्यातको अनुमति प्राप्त भएको छ । नयाँ अनुमतिसँगै भारततर्फ निर्यात गर्न स्वीकृति प्राप्त कुल विद्युत् क्षमता करिब एक हजार १७९ मेगावाट पुगेको छ ।
प्राधिकरणले देशभित्रको माग पूरा गरी बचत भएको वर्षायामको विद्युत् भारत र बङ्गलादेशमा निर्यात गर्दै आएको छ। द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताअनुसार भारतको हरियाणा र बिहार राज्यमा जुनदेखि अक्टोबरसम्म विद्युत् बिक्री गरिन्छ ।
बाढीका कारण केही आयोजना प्रभावित भए पनि निर्यात कारोबार बढ्नुले नेपालको विद्युत् व्यापारमा सकारात्मक प्रभाव देखिएको छ । जलविद्युत् आयोजनाको उत्पादन पुनः सञ्चालन तथा निर्यात अनुमति विस्तारसँगै आगामी दिनमा विद्युत् निर्यातलाई निरन्तरता दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ।