नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्र जलवायु परिवर्तन र मौसमी अनिश्चितताको चपेटामा पर्दै गएको छ । समयमा पानी नपर्ने, लामो समयसम्म खडेरी पर्ने तथा बाली भित्र्याउने समयमा अनपेक्षित वर्षा हुने समस्याले किसानको वर्षभरिको मेहनत जोखिममा पर्न थालेको छ। यसको प्रत्यक्ष असर यतिबेला धान भित्र्याउने चटारोमा रहेका सर्लाहीका किसानमा देखिएको छ ।
खेतमा धान पाकेर पहेँलपुर भएका छन्। कतै किसान पाकेको धान काट्न व्यस्त छन् भने कतै काटिसकेको धान खेतमै छरिएको छ। तर, आकाशमा बादल देखिनासाथ किसानलाई वर्षाले बाली नष्ट गर्ने हो कि भन्ने चिन्ता बढ्ने गरेको छ ।
सर्लाहीको हरिपुर नगरपालिकाका किसान रामलखन चौधरीलाई यतिबेला धान भित्र्याउने हतारो छ। खेतमा पाकेको धान काट्न बाँकी रहेको र काटिसकेको धानसमेत खेतमै भएकाले मौसम बिग्रिए ठूलो क्षति हुने चिन्ता उनलाई छ।
‘धान बारीमै छ । अहिले पानी पर्यो भने सबै सखाप हुन सक्छ। काटेको धान पनि खेतमै छ । पाकेको धानलाई पनि पानीले असर गर्न सक्छ । यस्तो अवस्थामा के गर्ने भन्ने सोच्नै सकेको छैन,’ चौधरीले भने ।
उनका अनुसार धान भित्र्याउने समय भएकाले गाउँभरिका किसान एकैपटक खेतमा जुटेका छन्। सबैलाई धान काट्ने हतारो हुँदा पर्याप्त कृषि श्रमिक पाउनसमेत कठिन भएको छ । एकातिर मौसमले साथ नदिने हो कि भन्ने चिन्ता छ भने अर्कोतिर समयमै बाली काटेर सुरक्षित स्थानमा पुर्याउने चुनौती छ ।
हरिपुरकै अर्का किसान शिवनारायण महतो पनि बदलिँदो मौसमबाट चिन्तित छन् । पानी पर्ने सम्भावनाबारे जानकारी पाएपछि खेतमा रहेको पाकेको र नपाकेको धानलाई कसरी जोगाउने भन्ने चिन्ता थपिएको उनले बताए ।
‘पहिले यस्तो समस्या त्यति भोग्नुपर्दैनथ्यो। अहिले कतिबेला पानी पर्छ र कतिबेला घाम लाग्छ भन्ने यकिन गर्नै गाह्रो भएको छ,’ महतोले भने ।
मौसमको अनिश्चितताले थपियो जोखिम
धान काट्ने, सुकाउने र भण्डारण गर्ने समयमा वर्षा भएमा बाली भिज्ने, गुणस्तर घट्ने तथा भण्डारणमा समस्या उत्पन्न हुने जोखिम हुन्छ । विशेषगरी काटिसकेको धान खेतमै रहँदा पानी परे किसानको उत्पादन र आम्दानीमा प्रत्यक्ष असर पर्न सक्छ ।
मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गर्ने मौसमी विवरणले किसानलाई खेतीपातीको योजना बनाउन सहयोग पुर्याए पनि स्थानीय स्तरमा मौसमको अवस्था र त्यससम्बन्धी जानकारी समयमै पाउनु महत्वपूर्ण हुन्छ।
तराई क्षेत्रमा व्यापक वर्षाको सम्भावना नरहेको पूर्वानुमान भए पनि मौसममा आउने परिवर्तनले धान काट्ने र सुकाउने काम प्रभावित हुन सक्ने चिन्ता किसानमा छ। त्यसैले पाकेको धान समयमै काटेर सुरक्षित स्थानमा राख्नुपर्ने दबाब उनीहरूलाई छ।
बदलिँदो जलवायु, बढ्दो कृषि जोखिम
पछिल्ला वर्षहरूमा अनियमित वर्षा, खडेरी, बाढी, पहिरो र असिनापानीजस्ता प्राकृतिक घटनाले कृषि उत्पादनमा जोखिम बढाएका छन्। समयमा वर्षा नहुँदा बालीको वृद्धि प्रभावित हुन्छ भने छोटो अवधिमा अत्यधिक वर्षा हुँदा खेत डुबानमा पर्ने तथा बालीमा क्षति पुग्ने समस्या देखिन्छ।
धान खेतीका लागि पानी आवश्यक भए पनि बाली भित्र्याउने समयमा अत्यधिक वर्षा हुनु किसानका लागि चुनौती बन्ने गरेको छ । बाली लगाउनेदेखि भित्र्याउने बेलासम्म मौसम अनुकूल नहुँदा किसानको श्रम, लगानी र अपेक्षित आम्दानी जोखिममा पर्ने गरेको छ ।
नेपालको कृषि प्रणाली अझै पनि ठूलो हदसम्म मनसुनमा निर्भर छ। पर्याप्त सिँचाइ सुविधा नभएका क्षेत्रमा किसानले आकाशे पानीकै भरमा खेती गर्नुपर्ने बाध्यता छ। वर्षा अनियमित हुँदा धानलगायतका बाली प्रभावित हुने जोखिम अझ बढी हुन्छ ।
पूर्वसूचना र जलवायु अनुकूल खेतीमा जोड
मौसमी जोखिम कम गर्न किसानलाई समयमै विश्वसनीय मौसमसम्बन्धी सूचना उपलब्ध गराउनु आवश्यक छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि–मौसम सल्लाह बुलेटिनमार्फत खेतीपातीका लागि उपयोगी जानकारी उपलब्ध गराउँदै आएको छ ।
यस्ता सूचना स्थानीय तहसम्म प्रभावकारी रूपमा पुर्याउन सके किसानले मौसमअनुसार धान काट्ने, सुकाउने र भण्डारण गर्ने योजना बनाउन सक्छन्। साथै, सिँचाइ सुविधा विस्तार, जलवायु अनुकूलित बीउबिजनको प्रयोग, कृषि बिमाको पहुँच वृद्धि र कृषि प्रविधिको विस्तारले पनि मौसमी जोखिम न्यूनीकरणमा सहयोग पुर्याउन सक्छ ।
सर्लाहीका किसानका लागि भने अहिलेको प्राथमिकता पाकेको धान सुरक्षित रूपमा भित्र्याउनु हो। वर्षभरिको मेहनतले तयार भएको बाली मौसमको प्रतिकूलताका कारण नष्ट नहोस् भन्ने चिन्ताबीच उनीहरू आकाशतिर हेर्दै धान काट्न र भित्र्याउन व्यस्त छन् ।