पर्सा प्रहरीले निषेधाज्ञा उल्लङ्घन गर्दै प्रदर्शनमा उत्रिएका २६ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरूलाई वीरगन्ज महानगरपालिकाका विभिन्न स्थानबाट पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ ।
पर्सा प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु कार्कीका अनुसार निषेधाज्ञा तोडेर प्रदर्शन गर्ने, प्रहरीमाथि ढुङ्गामुढा गर्ने तथा उच्छृङ्खल गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएका व्यक्तिहरू विभिन्न समुदायका रहेको उनले जानकारी दिए ।
वीरगन्जको अवस्था तनावग्रस्त बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय पर्साले अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा कायम राख्ने निर्णय गरेको छ ।
निषेधाज्ञा जारी हुँदाहुँदै पनि सोमबार हिन्दुवादी संगठनहरूले महानगरका विभिन्न क्षेत्रमा प्रदर्शन गरेका थिए । सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको थियो ।
यसअघि धनुषाको जनकपुरमा मस्जिदमाथि भएको आक्रमणको विरोधमा आइतबार बिहान मुस्लिम समुदायले प्रदर्शन गरेका थिए । त्यसपछि हिन्दु देवी–देउतामाथि अभद्र टिप्पणी गरिएको आरोप लगाउँदै हिन्दुवादी संगठनहरूले सोमबार वीरगन्जमा प्रदर्शन गरेका हुन् ।
प्रहरीले हाल अवस्था नियन्त्रणमा रहेको जनाउँदै शान्ति सुरक्षा कायम राख्न सुरक्षा व्यवस्था थप कडा बनाइएको जानकारी दिएको छ ।