एमालेका केन्द्रीय सदस्य तथा पूर्वसांसद प्रभु हजाराले वीरगञ्जमा उत्पन्न समुदायबीचको तनावप्रति गम्भीर चासो व्यक्त गर्दै हिन्दू–मुस्लिम दुवै समुदायलाई शान्ति, संयम र सद्भाव कायम गर्न हार्दिक अपील गरेका छन् ।
मंगलबार सार्वजनिक गरिएको साझा शान्ति अपीलमा नेता हजाराले धर्म र जात फरक हुन सक्ने भए पनि सबैको साझा पहिचान मानवता भएको उल्लेख गरेका छन् ।
“धर्मभन्दा ठूलो मानवता हो। कुनै पनि किसिमको जातीय वा धार्मिक हिंसाले समाजलाई कमजोर बनाउँछ,” अपीलमा उल्लेख गरिएको छ ।
हिन्दू–मुस्लिम सद्भाव वीरगञ्जको पहिचान भएको उल्लेख गर्दै उनले घृणा होइन, प्रेम र भाइचाराको बाटो रोज्न सबैलाई आग्रह गरेका छन् । मस्जिद होस् वा मन्दिर, दुवै स्थानबाट निस्कने सन्देश शान्ति र प्रेम नै हुनुपर्नेमा उनले जोड दिएका छन् ।
नेता हजाराले दंगा, द्वेष र हिंसा त्यागेर हातमा हात मिलाउँदै अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै जातीय वा धार्मिक उक्साहटमा नफस्न सबैलाई सचेत गराएका छन् ।
“नेपाल हाम्रो साझा घर हो, यसलाई नफरतले होइन, सद्भावले जोगाउनुपर्छ,” अपीलमा भनिएको छ ।
धर्मको नाममा अशान्ति फैलाउने जो–कोही भए पनि तिनको छानबिन गरी कानुनअनुसार कारबाही गर्न नेपाल सरकारसँग उनले जोडदार माग गरेका छन् ।
साथै, वीरगञ्जलाई शान्ति, सहअस्तित्व र एकताको सहरका रूपमा जोगाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
“जय वीरगञ्ज, जय जनता” भन्ने नारासहित नेता हजाराले शान्ति र सद्भाव नै वीरगञ्जको वास्तविक पहिचान भएको पुनः स्मरण गराएका छन् ।