बाराको जीतपुर बजार क्षेत्रमा विद्युतीय स्क्यानर प्रयोग गरी ठगी गर्दै आएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय जीतपुरका अनुसार कृष्ण मोबाइल सेन्टरमा स्क्यानर प्रयोग गरी ठगी गर्ने प्रयास गरिरहेका बेला उनीहरूको गतिविधि शंकास्पद देखिएपछि स्थानीयको सहयोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । पसल सञ्चालकले उनीहरूको गतिविधि अस्वाभाविक देखेपछि तत्काल प्रहरीलाई जानकारी गराएका थिए ।
प्रहरीका अनुसार ती व्यक्तिहरूले यसअघि पनि जीतपुर बजारका विभिन्न पसलहरूमा यस्तै किसिमको ठगी गरेको स्थानीय व्यवसायीहरूले गुनासाे गरेका छन् । केही पसल धनीहरूले आफूहरू पनि विद्युतीय स्क्यानर मार्फत हुने ठगीको शिकार भएको दाबी गरेका छन् ।
घटनाबारे विस्तृत अनुसन्धान भइरहेको र यस प्रकरणसँग सम्बन्धित थप पीडितहरूको पहिचान गर्ने कार्यसमेत अघि बढाइएको ईलाका प्रहरी कार्यालय जीतपुरले जनाएको छ ।